दशैं शुरु, आज घटस्थापना



सैघाली खबर
दाङ,५ असोज


यस वर्षको बडा दशैं आजबाट सुरु भएको छ । नवरात्रको पहिलो दिन आज घरघरमा देवी दुर्गाको प्रतीमा स्थापना गरी घटस्थापना गरिँदै छ ।आज घटस्थापनाको साइत बिहान ९ बजेर ४१ मिनेटमा शुभ रहेको पञ्चांग निर्णायक समितिले जनाएको छ ।काठमाडौंको हनुमान ढोकास्थित दशैं घरमा पनि घटस्थापनाको शुभसाइतमा जमरा राखिँदैछ । आश्विन शुक्ल पक्ष प्रतिपदाको दिनलाई घटस्थापना भनिन्छ ।

यसै दिनदेखि नवरात्री आरम्भ हुन्छ । यस दिन घर घरमा जमरा राखिन्छ र कलशको स्थापना गरी देवी–देवताको आह्वान गरिन्छ ।यस दिन झिसमिसे बिहानीमै आत्मशुद्धी गरी नदी, खोला, बगर या आफूलाई पायक पर्ने ठाउँमा गई चोखो बालुवा या माटो ल्याई दसैं घर या पूजाकोठामा राखी त्यस ठाउँमा जमरा उमार्न जौ, मकैलगायतका अनाज छर्ने गरिन्छ ।माता भगवतीलाई मनपर्ने बनस्पति जमरा भएकाले भगवतीलाई खुशी पार्नको लागि जमरा उमार्ने गरिएको शास्त्रमा बताईएको छ ।

आज राखिएको जमरा देवीको प्रसादका रुपमा विजया दशमीका दिन मान्यजनको हातबाट टीकासँगै लगाइने गरिन्छ ।उपत्यका लगायत देशैभरको देवी मन्दिरहरुमा आज विहानैदेखि दर्शन गर्न जानेको घुईंचो लागेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्