गौरापर्वले आपसी सद्भावलाई अझ मजबुत बनाउँछ : प्रधानमन्त्री



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गौरा पर्व नेपालको एक विशिष्ट पहिचान झल्काउने पर्वको रुपमा सुपरिचित रहेको बताएका छन् ।

गौरा पर्वको अवसरमा शुभकामना सन्देश दिँदै उनले कर्णाली प्रदेश तथा सुदूरपश्चिम प्रदेशमा विशेष हर्षोल्लासका साथ मनाइने यस पर्वले आपसी सद्भावलाई अझ मजबुत बनाउने बताए ।

उनले सन्देशमा धार्मिक र सांस्कृतिक महत्वका साथ गौरा पर्व मनाउने स्वदेश तथा विदेशमा रहेका समस्त नेपाली दिदी बहिनी तथा दाजुभाइमा सुस्वाथ्य, दीर्घायु, सुख, समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गरेका छन् ।

प्रधानमन्त्री ओलीले देशका विभिन्न भूभागमा बोलिने भाषा र विभिन्न क्षेत्रका संस्कृति, वेषभूषा, रीतिरिवाज र संस्कारले विविधताबीच एकता, आपसी सम्बन्ध र सामाजिक सद्भावको सम्मिलन गराएको उल्लेख गर्दै बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषता हाम्रो देशका अमूल्यहरु निधि रहेको बताए ।

“हाम्रो देशको जातीय र सांस्कृतिक विविधतालाई आपसी द्वन्द्वमा रुपान्तरण गर्ने दुष्प्रयासलाई हामीले सधैँ एकताबद्ध भएर परास्त गर्दै आएका छौँ”, उनको सन्देशमा भनिएको छ, “हिमाल, पहाड र तराईका नेपालीहरुबीचको आपसी एकता झनझन प्रगाढ हुँदै गएको छ ।”

हाम्रा चाड पर्व जीवन्त अन्तर–सांस्कृतिक अन्र्तघुलनका अनुपम उदाहरण रहेको उल्लेख गर्दै उनले सद्भाव र एकताको प्रवद्र्धन गर्ने हाम्रा अनेकौँ पर्व र सांस्कृतिक अवसरमध्येको गौरा पर्वले समस्त नेपाली दिदी बहिनी दाजुभाइबीचको आपसी सद्भावलाई अझ मजबुत बनाउने विश्वास गरेको बताए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्