चाडपर्बमा मासु र चिल्लो पदार्थ खाँदा ध्यान दिऔ



दिपक वोहरा , तुलसीपुर ७ असोज ।
हिन्दु नेपालीहरुले महान पर्बका रुपमा बडादशैलाई मनाउने गरेका छन् । ठूलाबडा, मान्यजनको हातबाट रातो टीका र आशीर्वाद थाप्ने र मिठोमसिनो खाने पर्वका रूपमा बडा दशैलाई चिनिदै आएको छ । यो पर्ब ऋण काढेर भएपनि भब्यताका साथ मनाउनु पर्छ भन्ने मानसिकताको बृद्धि भएको पाईन्छ ।
तर आफ्नो हैसियत अनुसार नै चाडपर्ब मनाउनु पर्ने आवाजहरु पनि उठ्ने गरेका छन् । दशैमा ऋण काढेर भए पनि नयाँ लुगा लगाउने र मासुका लागि सिँगै खसी ढाल्ने होडबाजी नै चल्ने गर्छ । जसले गर्दा पनि यो दशै भड्किलो बन्दै गएको छ । परम्परागत देखी चल्दै आएको एउटा उखान छ ‘दशैं आयो ढोल बजाई, गयो दशैं ऋण बोकाई’ ।

दशैमा विशेष गरी चिल्लो भएका खानेकुरा तथा मासुका विभिन्न परिकार बनाएर खाने चलन हुन्छ । जसले गर्दा दशैं मनाउन भनेर आएका आफन्तजन र पाहुनाहरू बिरामी भएर अस्पताल भर्ना हुनुपर्ने अवस्थासमेत आउने गरेको छ । सोही कारण दशैंमा मासुका परिकारको सावधानीपूर्वक र सन्तुलित प्रयोग गर्न आवश्यक रहेको चिकित्सकहरुले बताउछन् । मासुमा १४ देखि २० प्रतिशतसम्म प्रोटिन पाइन्छ । यसमा जिङ्क, भिटामिन बी, पोटासियमजस्ता तत्व पनि पाइन्छन् । यी तत्व हाम्रो शरीरका लागि आवश्यक तत्व हुन् ।
सन्तुलित भोजनमा मासुको प्रयोग अनिवार्य नै मानिन्छ । तर, मासुबाट प्राप्त हुने तत्व त्यति सजिलैसँग भने प्राप्त गर्न सकिँदैन । हामीले राम्रोसँग सुरक्षित ढङ्गले राख्न नजानेमा त्यही मासुबाट विभिन्न भयानक किसिमका रोग उत्पन्न हुने, सर्ने खतरा रहने जिल्ला जनस्वास्थ्य कार्यालय दाङका प्रमुख घनश्याम पोख्रेलले बताए । उनका अनुसार दैनिक अत्यधिक रातो मासुको प्रयोगले मानिसको संवेदनशील अङ्ग मुटुमा असर पार्नुका साथै उच्च रक्तचाप निम्त्याउने र क्यान्सरको सम्भावना पनि बढाउँछ ।
दैनिक धेरै मासु खाँदा शरीरमा भएका विभिन्न बलिया हड्डी कमजोर हुने खतरा रहने उनले बताए । साथै आर्थाइटिस (हाडजोर्नी सम्बन्धी रोग) को सम्भावना अत्यधिक हुनुका साथै महिलाहरूमा स्तन क्यान्सरको खतरा हुने उनले बताए ।
नेपालका मासुपसलमा भएका लापरबाहीका कारण मानिसमा धेरैजसो ब्याक्टेरियाको सङ्क्रमण हुने गरेको प्रमुख पोख्रेलले बताए । विरामी पशु वा काँचो मासु खाँदा जुकाका लार्भाहरू शरीरमा प्रवेश गर्ने तथा मासुमार्फत विभिन्न खालका रोग सर्ने खतरा रहने बताए । फोहोर वधशाला, मासुको तयारी तथा खानपानमा पर्याप्त ध्यान नदिँदा विभिन्न किसिमका ‘फ्लू’ तथा सरुवा रोग सर्ने माध्यम हुन सक्ने खतरा उनले औंल्याए ।
मासु र अन्य परिकारलाई स्वस्थकर ढङ्गले नराख्दा खानेकुरामा विषाक्तता बढी प्वाइजनिक हुन पुग्छ र खाएको केही समयभित्रै पेट बटारिने, पेट ढुस्स पर्ने, झाडापखाला चल्ने , अपच भई तत्कालै पेट फुल्नेलगायतका समस्या देखिने उनले बताए ।
उनले केही आधारभूत कुरामा ध्यान दियौं भने मासुबाट सर्ने रोगबाट बच्न सकिने बताउँछन् । हेर्दै नाम्ले परेजस्तो, अति दुब्लो, आँखा आवश्यकताभन्दा बढी रसिलो भएको, झोक्राएर बस्ने, फनफनी घुम्ने खसी बोकाको मासु खान नहुने उनको धारणा छ । आजकल सिङमा हरियो रङ पोतिएका खसी बोका स्वस्थ र रातो रङ दलिएका खसी बोका अस्वस्थ भनि छुट्याउने गरिएको उनले बताए । त्यसपछि हामीले खसीबोकाको वध गर्नेदेखि लिएर मासु पकाएर खाने, त्यसलाई भण्डारण गर्ने कुरामा पनि केही आधारभूत जानकारी राख्यौं भने मासुजन्य रोगबाट बच्न सकिने उनको सल्लाह छ ।
मासु कसरी छान्ने ?
–मासु हलुका गुलाबी रङको हुनु हुँदैन ।
– मासु हरियो तथा प्याजी रङको भएमा त्यो खान अयोग्य मानिदैन ।
– मासुबाट कुनै पनि किसिमको अमिलो, बिग्रिएको, मन नपर्ने गन्ध आउनु हुँदैन
– मासु फ्रिजमा अलग–अलग गरी छोपेर सफा र चालू फ्रिजमा राख्नु राम्रो मानिन्छ ।
– मासु काट्दा र समाउँदा तन्केको जस्तो हुनुहुँदैन ।
– मासु किन्ने पसल, काट्ने मानिस, काटेको स्थान, अचानो, चलाएको हतियार सफा हुनुपर्छ । लगाएको – पोशाक, काटेको तरीका, तराजु सफा हुनुपर्छ ।
मासु खाँदा ध्यान दिनुपर्ने कुरा
– फ्रिजमा लामो समयसम्म भण्डारण गरेर राखिएको मासु सकेसम्म नखानु राम्रो
– बासी तथा खुला स्थानमा राखेको मासु नखाने
– काँचो मासुको परिकार होडबाजी गरेर कुनै पनि हालतमा नखाने
– पोलेका मासु (सेकुवा, हाकु छोइला आदि) सकेसम्म नखाए कै राम्रो ।
– राम्ररी सफासँग पखालेको र राम्ररी पाकेको मासुमात्र खाने
–विभिन्न किसिमको धेरै मसला तथा तेलीय पदार्थको प्रयोग कम गर्ने
– बोसो तथा छालारहित मासुको प्रयोगमा जोड दिने

कस्तो व्यक्तिले कति मासु खाँदा असर पर्दैन
मानिसहरु पनि दसैं नै हो भनेर खानसक्ने गरी मासु खान्छन् । यो गलत हो । दसैंमा विशेषगरी रातो मासु पाक्ने भएकाले जतिसक्दो खाँदा स्वस्थ मानिसलाई पनि असर पुग्छ भने रोगीलाई थप असर गर्दछ । तसर्थ, आफ्नो रोगको प्रकृति हेरेर खानु उचित हो ।
– स्वस्थ मानिसले दिनभरमा १ सय ५० ग्राम मासु खानु उपयुक्त हुन्छ ।
– कोलेस्ट्रोल भएका मानिसले बोसो नभएको मासु खानुपर्छ ।
– कोलेस्ट्रोलका रोगीले खसीको मासुको साटो ह्वाइट मिट नतारेरै अर्थात थोरै तेल हालेर पकाएर खाँदा फाइदाजनक हुन्छ ।
– यदि रातो मासु खाएपनि त्यो छाला र बोसोरहित हुनुपर्छ ।
– दसैंमा धेरैको घरघरमा खसी काट्ने भएकाले आन्द्रा, भुँडी, कलेजोदेखि सबै भाग खाइन्छ । खसीको मासुमा चिल्लोको मात्रा धेरै हुने भएकाले भरसक कम खाँदा नै राम्रो । सकेसम्म ग्रेभी मासु खानु हुँदैन ।
– मोटो पना भएका व्यक्तिले एकदिनमा मासुको ३÷४ पिसमात्र मासु खान राम्रो हो ।
यदि रक्तअल्पत्ता छ भने कलेजो खाँदा फाइदा हुन्छ
– युरिक एसिड भएका मानिसहरुले रातो मासुको साटो माछा खानु लाभदायक मानिन्छ ।
– ग्याष्ट्रिक्सका बिरामीले तारेको, पोलेको मासुभन्दा पनि नुन, पानी, जिरा, लसुन, अदुवा हालेको मासु खानु बेस हुन्छ ।
– मधुमेहका बिरामीले समय समयमा खाना खानुपर्ने भएकाले दसैंको बेला पूजाआजा तथा पकाउने कुरामा व्यस्त भएपनि बेलाबेलामा खानेकुरा खानुपर्छ । दूध, फलफूल तथा चिनी नहालेको कालो चिया खाइरहनुपर्छ । मधुमेहका रोगीले पनि भरसक रातो मासु नखाँदा नै राम्रो । मासुबाहेक दाल, गेडागुडी, पनिर, दूध, दही, तोफु खादि खाँदा राम्रो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्