शान्ती सेनाको माथिल्लो कोटा बढाउन प्रधानमन्त्री देउवको आग्रह



सैघाली खबर
काठमाण्डौ ८ , असोज 

शेरबहादुर देउवाले राष्ट्रसंघसमक्ष शान्ति सेनामा खटिने नेपाली सेनालाई संख्याको आधारमा माथिल्लो तहको सहभागिता बढाउन औपचारिक प्रस्ताव राखेका छन् । उनले राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरस सँगको भेटवार्तामा शान्ति सेनामा नेपालीको संख्या र माथिल्लो तहका अधिकारीहरुको सहभागितासमेत बढाइदिन आग्रह गरेका हुन् ।

प्रधानमन्त्रीले औपाचारिक भेटमा नै आग्रह गरेकाले सुनुवाई हुने सम्भावना बढेको नियोगका अधिकारीले जानकारी दिए । नेपालले विश्व शान्तिमा पुर्‍याएको योगदान स्वरुप नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीबाट शान्ति मिसनमा माथिल्लो तह पाउनुपर्नेमा अरूको कमान्डमा नेपाली सुरक्षाकर्मी जानुपरिरहेको छ । यस विषयलाई नेपाली सेनाले आफ्ना तर्फबाट राष्ट्रसंघीय शान्ति मिसनमा आवाज उठाउँदै आएको थियो । नेपाली सुरक्षाकर्मी विश्वका विभिन्न शान्ति मिसनमा ५ हजार भन्दा बढि कार्यरत छन् ।

राष्ट्रसंघबाट त्यति संख्यामा माग भइरहेको छैन । अमेरिकाले केही बजेट कटौती गरेका कारणले शान्ति मिसनमा सेनाको संख्या घट्न सक्ने अधिकारीहरुको आंकलन छ । महासचिवले नेपालको आग्रहलाई आफुले ध्यान दिएर हेर्ने बताए । महासचिव गुटेरसले नेपालले विश्व शान्तिका लागि नेपाली सेना र अन्य सुरक्षा अधिकारी पठाएर गरेको योगदानको निकै प्रशंसा गरेको थिए ।

प्रधानमन्त्री देउवाले काभ्रेको पाँचखालमा रहेको शान्ति सेनाको प्रशिक्षण केन्द्रको क्षमता अभिवृद्धि र क्षेत्रीयस्तरको बनाउनका लागि सहयोग गर्नसमेत महासचिवलाई आग्रह गरेका थिए ।
प्रत्युत्तरमा महासचिव गुटेरसले यसलाई सकारात्मक रूपमा आफूले छलफल अघि बढाउने आश्वासन दिएका थिए ।

राष्ट्रसंघको महासभामा भाग लिने क्रममा न्युयोर्क रहेका प्रधानमन्त्री देउवा र गुटेरसबीच आइतबार भएको भेटवार्तामा नेपालको पछिल्लो राजनीतिक घटनाक्रम तथा विकास प्रक्रियाको बारेमा छलफल भएको थियो । भुकम्प र बाढीको प्रकोपको पिडा र सहयोगबारे पनि छलफल भएको थियो । गुटेरसले नेपालको लोकतन्त्र संस्थागत हुने चरणमा प्रवेश भइसकेकामा खुशी व्यक्त गरेका थिए ।

स्थानीय तहको निर्वाचन सफलतापूर्वक सम्पन्न गरेकामा प्रधानमन्त्री र नेपाली जनतालाई बधाई दिंदै अन्य दुई चुनावको सफलताको शुभकामनासमेत व्यक्त गरेका छन् । गुटेरसले नेपालको लोकतन्त्रको संस्थागत विकास प्रक्रिया अनुकरणीय रहेको भन्दै खुशी व्यक्त गरेको छन ।

प्रधानमन्त्री देउवाले दलहरूबीचको सहकार्यले स्थानीय तहको चुनाव सम्पन्न भएको र त्यसमा नेपाली जनताको उत्साहपूर्वक सहभागिता रहेको उल्लेख गर्दै समयमै प्रदेश र संघको निर्वाचन हुने जानकारी दिए । नेपालमा समावेशी लोकतन्त्र अन्तर्गत महिला, आदिवासी, जनजाति, पिछडिएका वर्ग, अल्पसंख्यकलगायत सबैको सहभागिता सुनिश्चित भएको बताउँदै देउवाले नेपाल उदार लोकतन्त्रमा अग्रसर भइसकेको बताए । प्रधानमन्त्री देउवाले नेपालको शान्ति प्रक्रिया सफलतापूर्वक निष्कर्षमा पुगेकोबारेमा समेत महासचिवलाई जानकारी गराउँदै केही बाँक कामसमेत विस्तारै सपम्न्न हुने बताए ।

महासचिव गुटेरसले नेपालमा हालै गएको बाढी पहिरोबाट मृत्यु भएका व्यक्तिका परिवारप्रति समवेदना व्यक्त गर्दै सिंगो मुलुकप्रति सहानुभूति प्रकट गरे । महासभामा सम्वोधन गरेको बेलुका गुटेरसलाई भेटेका प्रधानमन्त्री देउवा यहाँबाट ओमानतर्फ लागेका छन । उनी ओमानमा दुई दिन बसेर स्वदेश फर्कनेछन । त्यहाँ प्रधानमन्त्रीको खाडीमा रहेका राजदूतहरूलाई निर्देशन दिने र नेपाली कामदारको प्रत्यक्ष समस्या सुन्ने कार्यक्रम रहेको ओमानका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकालले दिइन् । श्रमिक रहेका सबै पश्चिम एसियाली मुलुकमा खटिएका नेपालका राजदूत त्यहाँ आउनेछन ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्