त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले आफ्ना कर्मचारीलाई यात्रुसँगको व्यवहार सहज र राम्रो बनाउन सकारात्मक सोचसम्बन्धी प्रशिक्षण प्रदान गरेको छ ।‘
अतिथि देवो भव’ को भावनाबाट विमानस्थल कर्मचारी विमुख नहुन भनेर सबै कर्मचारीका लागि नैतिकतासम्बन्धी प्रशिक्षण आयोजना गरिएको हो । साथै कर्मचारीमा आज गर्नसकिने काम सकेसम्म आजै गर्ने भन्ने सोचको विकास गर्न र भोलि भन्ने बानी हटाउन प्रशिक्षण प्रभावकारी हुने बताइएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले आज उक्त प्रशिक्षण शुभारम्भ गर्दै यस्ता प्रशिक्षणले यात्रुसँगको व्यवहार राम्रो हुनाका साथै सम्बन्ध पनि कायम हुने बताउनुभयो । सोही मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले प्रशिक्षणपछि कर्मचारीमा राम्रो सोचको विकास भए नभएको अनुगमन गर्न सम्बन्धित निकायलाई सुझाव दिनुभयो ।
विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले दैनिक करीब २० हजार यात्रु ओहरदोहर गर्ने विमानस्थलका कर्मचारीले यात्रुसँग राम्रो व्यहार गरून् भन्ने उद्देश्यले यो प्रशिक्षण आयोजना गरिएको बताउनुभयो ।
विमानस्थल कार्यालयले पाँच दिनमा विभिन्न ‘सिफ्ट’ गरी करीब ९००कर्मचारीलाई विज्ञ प्रशिक्षकबाट प्रशिक्षण दिइने जनाएको छ । यो प्रशिक्षणपछि अर्को महीना विमानस्थलका ट्याक्सी चालकलाई पनि यस्तै प्रशिक्षण दिइने भएको छ । विमानस्थलका कर्मचारीले यात्रुसँग झर्कनाका साथै सहज व्यवहार नगरेको भन्ने गुनासो आएपछि मन्त्री भट्टराईको निदर्नेशनमा सो प्रशिक्षण आयोजना गरिएको महाप्रबन्धक क्षेत्रीले जानकारी दिनुभयो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।