पक्राउ परेका पाँच चिनियाँ ह्‍याकरलाई प्रहरीले सार्वजनिक गर्‍यो



नेपालको बैंकिङ प्रणालीबाट करोड भन्दा बढी रकम लुटपाट गर्ने ५ जना चिनियाँ नागरिकलाई आज प्रहरीले सार्वजनिक गरेको छ। पक्राउ पर्नेमा चिनियाँ नागरिक चेन विन विन, झु लियाङ आङ, क्यु याङयिङ, लु जियालिङ र लिन जिनमिङ रहेका छन्।

शनिबार दरबारमार्गस्थित नबिल बैंकको एटीएम मेसिन प्रयोग गरी रकम झिक्ने क्रममा एक जना चिनियाँ नागरिक पक्राउ परेका थिए। प्रहरीले उनी बसेको होटलबाट अन्य ४ जनालाई पक्राउ गरेको हो।

उनीहरु यही भदौ १३ गते मात्रै त्रिभुवन विमानस्थल भएर नेपाल प्रवेश गरेको र भोलि भदौ १६ गते फर्कने योजना रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

१ करोड २६ लाख ४५ हजार नेपाली रुपैयाँ र केही विदेशी रकमसमेत बरामद भएको छ। नेपाल राष्ट्र बैंकका अनुसार १ करोड ६८ लाख ५४ हजार रुपैयाँ बैंकिङ प्रणालीबाट नोक्शान भएको जनाएको छ। नेपाल राष्ट्र बैंक र नेपाल बैंकर्स संघले सर्वसाधारणको निक्षेप सुरक्षित रहेको बताएका छन्।

एटिएमबाट एकै पटक ठूलो रकम निकालिएपछि बैंकका कर्मचारीले निगरानी गरेको र विदेशी नागरिकको शंकास्पद गतिबिधि देखिएपछि प्रहरीलाई खबर गरिएको थियो।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्