काठमाडौं । नेपाल ओलम्पिक कमिटीको चुनाव यही भदौ २८ गते हुने भएको छ ।
ओलम्पिक कमिटीका कार्यसमिति सदस्य कमलबहादुर चित्रकारले चुनाव रोक्न माग गर्दै सर्वाेच्चमा रीट हालेपछि गत २० गतेका लागि तोकिएको चुनाव तत्कालका लागि रोकिएको थियो ।
तर, रीटमा गत आइतबार दुबै पक्षसँग छलफल गरी न्यायाधीश तेजबहादुर केसी र मनोजकुमार शर्माको इजलासले निर्वाचन रोक्न अन्तरिम आदेश जारी गर्न नपर्ने निर्णय सुनाएको थियो ।
सर्वाेच्चले चुनाव रोक्न अन्तरिम आदेश गर्न नपर्ने निर्णय गरेपछि ओलम्पिक कमिटीले चुनावको नयाँ मिति सार्वजनिक गरेको हो ।
चुनाव अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी र ओलम्पिक काउन्सिल आफ एशियाको प्रवेक्षणमा सातदोबाटोस्थित नेपाल ओलम्पिक कमिटीको कार्यालयमा विहान ८ बजेदेखि सुरु हुने अध्यक्ष जीवनराम श्रेष्ठले जानकारी दिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।