मुख्य समाचार

प्रधानमन्त्री देउवा ओमनमा, आज उच्चतहको भेटवार्ता

By थाहा अनलाइन

September 26, 2017

सैघाली खबर काठमाडौं, १० असोज

प्रधानमन्त्री शेरबहादुर देउवालाई ओमन सरकारले गार्ड अफ अनर प्रदान गरेको छ । प्रधानमन्त्री देउवा संयुक्त राष्ट्र संघको ७२ औँ महासभामा भाग लिई स्वदेश फर्कने क्रममा संयुक्त अरब इमिरेट्स (युएइ) को अबुधाबी हुँदै सोमबार ओमन आइपुग्दा विमानस्थलमा रोयल ओमन प्रहरीले गार्ड अफ अनर अर्पण गरेको थियो । प्रधानमन्त्री देउवाको ओमनको तीनदिने कार्यक्रमलाई त्यहाँको सरकारले औपचारिकता दिएको छ ।

उहाँलाई हिजो बेलुका मस्कट विमानस्थलमा ओमनका उप–प्रधानमन्त्री सइद फहद महुद अल–सइद, ओमन सरकारका पाँच मन्त्री, नेपालका लागि ओमनका राजदूत शर्मिला पराजुलीलगायत उच्च अधिकारीले स्वागत गर्नुभएको थियो । प्रधानमन्त्री देउवाको सम्मानार्थ ओमन सरकारले रात्रिभोजको आयोजना पनि गरेको थियो । आज र भोलि ओमनमा उहाँको उच्चस्तरीय भेटवार्ता हुने ओमनमा रहेको नेपाली दूतावासले जनाएको छ ।

प्रधानमन्त्री देउवाले आज खाडी क्षेत्रका नेपाली कूटनीतिक नियोगका प्रमुखलाई नेपाल र नेपाली आप्रवासी कामदारको हित र उनीहरूको संरक्षणका बारेमा निर्देशन दिने कार्यक्रम रहेको प्रधानमन्त्री देउवाका निजी सचिव बद्री तिवारीले जानकारी दिनुभयो । श्रम तथा रोजगारमन्त्री फरमुल्लाह मन्सुर मस्कटबाट प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलमा सहभागी हुनुभएको छ ।महासभामा भाग लिन यही असोज ३ गते संयुक्त राज्य अमेरिकाको न्यूयोर्कका लागि प्रस्थान गरेको नेपाली प्रतिनिधिमण्डल असोज १२ गते स्वदेश फर्कने कार्यक्रम छ ।