सुवास दर्नाल, सोलुखुम्बु । ओखलढुंगाको सिद्धिचरण नगरपालिका-६, जन्तरखानीका मइते विश्वकर्मा जातीय छुवाछुतको सिकार बन्नुभएकाे छ ।
दलित भएर घरमा पसेकाे भन्दै स्थानीय कुमार मगरले विश्वकर्मालाई कुटपिट गरी घाइते बनाएका हुन् । सोमबार साँझ ५ बजे काम परेकाेले कुमार मगरको घरमा पुगेका उहाँलाई दलित भएर घरमा पसेकाे भन्दै निर्घात कुटपिट गरेको पीडितका भाइ शम्भु विश्वकर्माले बताउनुभयो ।
कुटपिटबाट अनुहारमा चोट लागेकोले उहाँको अहिले मिसन अस्पताल ओखलढुंगामा उपचार भइरहेको छ । घटना हुन साथ ठाढे प्रहरी चौकीलाई तत्काल खबर गरे पनि प्रहरीले बेवास्ता गरेको पीडित पक्षको भनाइ छ ।
यता ओखलढुंगाका प्रहरी प्रमुख डीएसपी पुष्पराज मल्लले घटनाको विषयमा मंगलबार बिहान मात्रै प्रहरीमा जानकारी आएको बताउनुभएको छ । दोषीलाई कानुन अनुसार कारबाही हुनेमा कुनै शंका नगर्न समेत डिएसपी मल्लले आग्रह गर्नुभयो ।
यस्तै प्रमुख जिल्ला अधिकारी (सीडीओ) गणेश आचार्यले २१ सौँ शताब्दीमा पनि जातीय विभेद जस्तो जघन्य अपराध गर्ने जोकोहीलाई कानुनी दायरामा ल्याइने बताउनुभयो ।
पीडित पक्षले मंगलबार नै जिल्ला प्रहरी कार्यालय ओखलढुंगामा जाहेरी दिने बताएको छ । कुटपिट गर्ने कुमार मगर भने फरार भएको स्थानीयले बताएका छन् । कानुनमा जातीय छुवाछुत गर्ने उपर जातीय छुवाछुत कसुर ऐन अन्तरगत तीन महिनादेखि ३ वर्ष सम्म कैद सजाय र ५० हजारदेखि २ लाख रुपैयासम्म जरिबाना हुने व्यवस्था रहेको छ । उज्यालोबाट साभार
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।