गाउपालिका केन्द्र पुग्न दुई दिन  



 

दिपक बोहरा,

दाङ १० असोज।

दाङको बंगलाचुली गाउपालिकाको केन्द्र पुग्न दुई दिन सम्म हिड्नु पर्ने बाध्यता छ । साबिक हाँसिपुर हाल बंगलाचुली गाउपालिका ७ र ८ नंंबर वडाका बासिन्दाहरु गाउँपालिका केन्द्र पुग्न दुई दिन लाग्ने गरेको गुनासो गरेका छन ।

दाङको पुर्बी क्षेत्रमा पर्ने उक्त गाउपालिका पहाडी क्षेत्रमा पर्छ ।  भौगोलिक बनावटले गर्दा नै  ७ र ८ नं. वडाबाट केन्द्र सम्म पुग्न दुई दिन हिड्नु पर्ने बाध्यता रहेको छ । ‘ केही कामहरु वडामा हुन्छन्, स्थानीय हरि बुढाले भने ‘ठुला ठुला काम गर्न दुई दिन हिडेर भएपनि केन्द्रमा पुग्नु पर्छ ।’ उनले थपे ‘ बर्षादको समयमा भएको क्षति टिपाउन हामी दुई दिन लगाएर गाउपालिकाको केन्द्रमै पुग्नु पर्ने बाध्यता थियो ।’

गाउपालिकाको कार्यालयमा केही काम परेमा दुई दिन हिडेर पुग्नु पर्ने बाध्यता रहेको उनले बताए । वडा नं. ७ र ८ का जनप्रतिनिधिहरुलाई पनि गाउसभा तथा गाउकार्यपालिकाको बैठकमा सहभागी हुन पनि कठिन हुँने गरेको छ । बंगलाचुली गाउपालिकाको केन्द्र रहेको कमिरेचौरमा  धौ धौ मोटरसाईकल पुग्छन्, तर ठुला सवारीका साधन पुग्न सक्दैनन् ।

मोटरसाईकलबाट तीन घण्टामा पुग्न सकिन्छ तर हिडेर दुई दिन लाग्ने वडा नंं ८ का वडा अध्यक्ष गिरराज बुढाले बताए । ‘ मोटरसाईकलमा ३ घण्टामै पुग्न सकिन्छ’ उनले भने‘ तर हिडेर दुई दिन लाग्छ ।’ वडा नं. ७ र ८ बाट गाउपालिकाको केन्द्रमा पुग्न छोटोबाटो नहुँदा घोराही आउनु पर्छ  र घाराहीबाट गाउँपालिकाको केन्द्र कमिरेचौर जानु पर्छ  । उक्त समस्या समाधानका लागि अहिले एक करोड बजेट बिनियोजन गरिएको गाउपालिकाका अध्यक्ष भक्त बहादुर वलीले बताए ।

उनका अनुसार ती वडाहरुबाट गाउपालिकाको केन्द्र सम्म पुग्न सहज होस भनी सडकको ट्रयाक खोल्न शुरु भएको अध्यक्ष वलीले बताए । ‘ ती वडाहरुमा जोड्न ट्रयाक खोल्न लागेका छौं ’ अध्यक्ष वलीले भने ‘ सडक निर्माण भयो भने सहज गाडिबाट आवत जावत गर्न सकिन्छ ।’  साथै वडा नं. ७ का जनप्रतिनिधिहरुलाई चाहेको बेला फोन सम्पर्क गर्न नसकिने उनले बताए । उनले भने ‘ बैंठकलगायत अन्य बिषयमा समन्वय गर्न भनी फोन गर्न खोज्यो, वडा नं. ७ का अध्यक्ष ज्यूलाई फोन सम्पर्क पनि हुन सक्दैन् ।’

उक्त वडामा सञ्चारको पनि निकै समस्या रहेको उनले बताए साथै गाउसभाको पहिलो बैठकले सडक, खानेपानी, सञ्चारलाई बढी प्राथामिकता दिएर बजेट बिनियोजन गरेको बताए ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्