प्लाष्टिक झोला प्रयोग गर्न नपाईने



 

 

सैघाली खबर 

घोराही, १० असोजघोराही उपमहानगरपालिकाले नगर क्षेत्रमा पलाष्टिकका झोला प्रयोगमा पूर्णरुपमा रोक लगाउने निर्णय गरेको छ । उपमहानगर कार्यपालिकाको मंगलबार बसेको बैठकले यही असोज २२ गते देखी घोराही उपमहानगरपालिकाको कार्यालय र वडा कार्यालयको परिसर भित्र पलाष्टिकका झोलाहरु प्रयोगमा पूर्णरुपमा रोक लगाउने निर्णय गरेको हो ।
साथै उपमहानगर मातहतका विषयगत शाखा कार्यालय र अन्य सरकारी कार्यालयहरुमा कार्तिक १ गते देखी पलाष्टिकका झोलाहरुको प्रयोगमा सम्बन्धित निकायलाई जानकारी गराई पूर्णरुपमा प्रतिबन्ध लगाउने निर्णय भएको उपमहानगरका प्रबक्ता भरत अर्यालले जानकारी दिनुभयो ।निर्णय कार्यान्वयन भैसकेपछि अटेरि गर्नेलाई पहिलो पटक सम्झाउने, दोस्रो पटक चेतावनी दिने र तेस्रो पटक पनि अटेरी गरेर प्रयोग गरे प्रति पटक ५० रुपैयाँ जरिवाना गर्ने निर्णय भएको छ । उपमहानगरको वडा नम्बर १४ ले दाङ जिल्ला उद्योग बाणिज्य संघ सँगको समन्वयमा भदौ ५ गते देखी पलाष्टिकका गिलास प्रयोगमा निषेध गर्ने निर्णय गरेको थियो ।उपमहानगरपालिकाका मेयर नरुलाल चौधरीको अध्यक्षतामा बसेको बैठकले उपहानगर भित्र कर्तिक १ गते देखी पलाष्टिकका गिलासहरु प्रयोगमा पूर्णरुपले बन्देज गर्ने पनि बैठकले निर्णय गरेको छ । यसका लागि नगर क्षेत्र भित्रका सबै व्यापारिहरुलाई असोज मसान्त सम्म मौज्दात रहेका पलाष्टिकका गिलासलाई व्यवस्थापन गर्न समेत बैठकले आग्रह गरेको छ ।पलाष्टिकका झोला र गिलास नकुहिने, माटोको गुणस्तर घटाउने, प्रदुषण बढाउने र मानब स्वास्थ्यमा असर पार्ने भए पछि यस्तो निर्णय गरिएको उपमहानगरका मेयर नरुलाल चौधरीले जानकारी दिनुभएको छ ।

दशैमा नगरपालिकाले सडक बालबालिकालाई नयाँ कपडा दिने

बैठकले घोराही बजारमा रहेका सडक बालबालिकालाई जनही एक हजार ५ सय रुपैयाँका दरले एक एक जोड कपडा प्रदान गर्ने निर्णय भएको छ । घोराही क्षेत्रमा रहेका ९ बालक र ८ बालिकाको लागि दशै अघि नै एक एक जोडा कपडा प्रदान गर्ने निर्णय भएको हो ।साथै दशैको टिका दिन बाहेक अन्य बिदाको दिनमा कुनै पनि सिफारीसहरु दिनु परे कार्यालय खुला गरेर प्रदान गर्ने आनौपचारी निर्णय भएको प्रबक्ता अर्यालले जानकारी दिनुभयो । यस बिषयमा जिल्ला प्रशासन कार्यालयले पनि दशैको टिकाको दिन बाहेक अन्य दिनमा आईपरेका कामहरु गर्ने बताएको छ ।

साथै उक्त निर्णयलाई प्रभावकारी कार्यान्वयन गर्न ‘वडा स्तरिय प्लाष्टिकका झोला, प्लाष्टिकजन्य गिलासको प्रयोगबाट उत्पन्न हुने समस्याको पहिचान तथा समाधान सम्वन्धि सचेतना एवम् अन्तर्कृया,’ कार्यक्रमहरु संचालन गर्न सबै वडा समितिलाई जिम्मेवारी दिईएको छ ।बैठकले प्रजातान्त्रिक आन्दोलनका लौह पुरुष स्व. गणेशमान सिँहको पूर्णकदको शालिक राख्नको लागि घोराही उपमहानगरपालिका वार्ड नं १७ को गुलारिया पार्क भित्र पूर्व पट्टिको करिब चार धुर जग्गा उपलब्ध गराउने निर्णय भएको छ ।

त्यस्तै घोराही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थालाई उक्त संस्थाको माग बमोजिम पीच सडक काट्नको लागि अनुमति प्रदान गर्ने र यस सम्बन्धि अन्य व्यवस्थापकीय कार्य योजना शाखाले तय गरे बमोजिम हुनेगरी निर्णय गरिएको प्रबक्ता अर्यालले जानकारी दिनुभयो ।साथै उपमहानगरका कार्यकारी अधिकृत कृष्णप्रसाद सापकोटाको तिलोत्तमा नगरपालिका रुपन्देहीको कार्यकारी पदमा सरुवा भएको हुँदा आगामी कार्यकालको सफलताको कामना गरेको छ ।त्यसैगरी, घोराही उपमहानगरपालिका १ का वडा अध्यक्ष एवं नगर कार्यपालिकाका सदस्य राममणि पाण्डेयकी आमा कुमारी पाण्डेयको ९३ वर्षको उमेरमा असोज ७ गते भएको निधनप्रति शोकप्रकट सहित दिवंगत आत्माको चीरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गर्ने निर्णय गरेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्