बलराम तिमिल्सिना भन्छन्, सरकारले गति छाड्यो, कांग्रेस अल्जाईमर पिडित



साहित्यकार एवम कम्युनिष्ट राजनितिज्ञ बलराम तिमिल्सिनाले कम्युनिष्ट आन्दोलन मृग मारेर ल्याउँछु भन्ने शिकारीले काग मारेर ल्याएको जस्तो भएको टिप्पणी गरेका छन् ।

हालै एक मिडियासँग कुराकानी गर्दै तिमिल्सिनाले १० वर्षसम्म चलेको माओवादी जनयुद्धबाट शान्तिप्रक्रिया हँदै यहाँसम्म आईपुग्दा जे गर्न भनेर अगाडी आएको थियो त्यो हुन नसकेको बताए । उनले भने, ‘सर्वहारा वर्गको अधिनायकत्व भएको नयाँ जनवादी व्यवस्था ल्याउन भनेर यहाँसम्म आईपुगेको माओवादी अहिले हाडछाला जोगाउन मात्रै शान्ति प्रक्रियामा आएको जस्तो लाग्छ ।’ १७ हजार निर्दोष जनता मर्दासम्म क्रान्ति नछोडेको पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको माओवादीले टाउकामाथी हेलिकोप्टरबाट बम खस्न थाले पछि आफु र आफ्नो  परिवार जोगाउन शान्ति प्रक्रियामा आएको आरोप उनले लगाए । नेतृत्व प्रति धेरै विश्वास गर्दा आफु जस्तै सोझो भएर काम गर्ने धेरै कार्यकर्ताहरुले दुख पाएको  उनको दावि छ । उनले भने, ‘हामीहरु सोझो भएकै कारण पार्टीभित्र ठुला ठुला दुर्घटना भए, गद्दारी भएको पनि चाल पाईएन । अहिले आएर पश्चाताप लागेको छ । ’

माओवादी कहाँनेर चिप्लीयो त भन्ने प्रशंगमा उनको भनाई छ, अहिले जसले जे जे व्याख्या गरेपनि माओवादी चुनवाङ बैठकबाट चिप्लेको हो । अवको पाँच वर्षमा वर्तमान सरकार अर्थात अहिलेको नेकपाको स्तर कहाँ देख्नुहुन्छ ? भन्ने जिज्ञासामा तिमिल्सिनाले नेकपा अहिले ओरालोमा झरीरहेको बताए । उनले भने, चुनाव ताका म लगाएत सवै नागरिकले मत दिए तर अहिले नागरीकलाई यति सम्म पछुतो भएको छ की जनताले आफ्नो हात थुकीरहेका छन् । नागरिकलाई फेरी मतदान गर्ने मौका दिने हो भने वर्तमान सरकार ढल्ने निश्चित भएको ठोकुवा उनले गरे  ।

आगामी चुनावमा नेकपाको स्तर घट्ने र एक्लै सरकार बनाउने स्थिती नेकपाको नरहने दाबी उनको छ । उनले भने ‘कांग्रेस अल्जाईमर पिडित छ, कांग्रेसले प्रतिपक्षिको भुमिका शशक्त ढंगले निर्वाह गर्न सकेको छैन जसका कारण सरकार गतीछाडा भएको छ ।’ वर्तमान सरकारलाई दुई तिहाईको दम्भ भएकाले जनताका सरोकारका विषयबाट अलग रहेको उनले बताए । उनले तस्कर, ठेकेदार, ठुल्ठुला व्यापारी , विदेशी राजदुत आदि वर्तमान सरकारका सल्लाहकार भएका भन्दै सल्लाह गतिलो पनि नपाउने र सल्लाह पाउनेसँग सल्लाह पनि नलिने भएका कारण सरकारसँग जनता असन्तुष्ट रहेको दावी गरे ।

नेपालमा कम्युनिष्टहरु सखाप हुन्छन् त ? भन्ने अर्को प्रश्नमा  केही वर्ष अन्यौल जारी रहने उनले बताए । यती ठुलो आन्दोलन विघटन भएकोले केन्द्रिकृत हुन समय लागेपनि आन्दोलन आवश्यक भएकाले नयाँ ढंगबाट कम्युनिष्ट आन्दोलन फेरी अगाडी बढ्ने उनको भनाई छ । अन्त्यमा तिमिल्सिनाले गणतन्त्र खच्चड स्वभावको भएको जिकिर गरे । गणतन्त्रलाई नेपालले जन्माएपनि बिउ दिल्लीको भएको उनले टिप्पणी गरे । वर्तमान सरकारले गणतन्त्रका नाममा जनतालाई दुख दिने काम मात्रै गरेको उनको दावी छ । एक फरक प्रशंगमा धुलो उड्ने काठमाण्डौका सडकमा मास्क लगाउँदा सरकार विरोधी भन्ने प्रधानमन्त्रीको अभिव्यक्ति हास्यास्पद भएको उनको भनाई छ । (यो सामाग्री इन्टरभ्यु नेपालसँगको कुराकानीमा आधारीत छ ।)

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्