प्रतिनिधिसभाको बुधवारको बैठकले दुईवटा विधेयक स्वीकृत गरेको छ भने एक विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाएको छ ।
बैठकमा गृहमन्त्री रामबहादुर थापाले “नेपाल प्रहरी र प्रदेश प्रहरी कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय विधेयक, २०७५ का सम्बन्धमा राष्ट्रियसभाबाट भएको संशोधनमाथि विचार गरियोस्” भनी प्रस्ताव प्रस्तुत गरेका थिए । प्रस्तावलाई बैठकले बहुमतले स्वीकृत गरेको हो ।
यसैगरी गृहमन्त्री थापाले “प्रहरी समायोजन विधेयक, २०७५ का सम्बन्धमा राष्ट्रियसभाबाट भएको संशोधनमाथि विचार गरियोस्” भनी दोस्रो प्रस्ताव पनि प्रस्तुत गरेका थिए। प्रस्तावलाई बैठकले सर्वसम्मतिले स्वीकृत गरेको थियो । दुवै प्रस्तावमाथिको छलफलमा भाग लिनुहुँदै सांसद दिलेन्द्रप्रसाद बडूले विधेयकमा कर्मचारी भन्ने शब्द थप गरिनुपर्ने माग गरे ।
यसैगरी प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले “लोकसेवा आयोग विधेयक, २०७५ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्” भनी प्रस्ताव प्रस्तुत गरेका थिए । प्रस्तावलाई बैठकले सर्वसम्मतिले स्वीकृत गरेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।