अर्थमन्त्रीको राजीनामा माग्दै सदन अवरूद्ध



कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाको राजीनामा माग्दै प्रमुख प्रतिपक्षी दलले सदन अवरूद्ध गरेको छ ।

अवरूद्ध गरेको कर्णाली प्रदेशसभाको बैठक बस्न सकेको छैन । सोमबार चौथो अधिवेशनको ३० औं बैठक प्रतिपक्षी दल नेपाली कांग्रेसले अवरूद्ध गरेको थियो । २२ औं बैठकबाट सदनले पारित गरेको बजेट तोडमोड गरेको भन्दै प्रतिपक्षी दलले आर्थिक मामिला तथा योजना मन्त्री ज्वालाको राजीनामा माग गरेको हो । बजेट तोडमोड गरेर संसद्को अवमूल्यन गरेको भन्दै प्रतिपक्षी दलका नेता जीवनबहादुर शाहीले सोमबारको बैठकमा मन्त्रीको राजीनामा मागेका हुन्।

प्रतिपक्षी दल आर्थिक मामिला मन्त्री ज्वालाको राजीनामा गराएरै छाड्ने अडानमा छ भने सरकार, सत्तापक्ष संसदीय दल र संसद सचिवालय भने राजीनामा नगराएर समस्या समाधान गर्ने पक्षमा छन्। मन्त्रीको राजीनामा नआएसम्म कुनै पनि हालतमा बैठक चल्न नदिने अडान प्रतिपक्षी दल कांग्रेसको छ। यता सरकार भने प्रतिपक्षी दलले बजेटको विषयलाई सच्याएर जाने तयारीमा छ।

प्रतिपक्षी दलको अवरोधपछि संसद बैठक बिहीबारका लागि तोकिएको थियो। तर बिहीबार पनि बैठक स्थगित भएको छ। प्रतिपक्षी दलका नेता शाहीले आर्थिक मामिला मन्त्रीले राजीनामा नदिएसम्म बैठक नचल्ने अडान दोहोर्‍याए। प्रदेश सरकारका प्रवक्ता तथा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीले यस विषयमा छलफल भइरहेको बताएकी छन् ।

प्रतिपक्षी दलले उठाएको माग र सम्बन्धित विषयसँगको समस्या समाधानका लागि मन्त्रिमण्डलमा छलफल भइरहेको उनले बताइन् । प्रतिपक्षी दल नेपाली कांग्रेसले उठाएको माग अनुसार मन्त्रीको राजीनामा नै दिनुपर्ने आवश्यकता नरहेको मन्त्री केसीले बताइन् । ‘मन्त्री केसीका अनुसार संविधान दिवसका अवसरमा प्रदेश सरकारले तय गरेका कार्यक्रम सकिएलगत्तै संसद् बैठक आह्वान गर्ने तयारी भएको छ।

संविधान दिवस मनाउन कर्णाली प्रदेश सरकारले असोज २, ३ र ४ गते विभिन्न कार्यक्रम आयोजना गरेको छ । सत्तापक्षका सांसद् ठम्मर विष्ट प्रतिपक्षी दलको माग जायज भएको बताउँछन् । प्रतिबद्धता अनुसार काम नआएकाले प्रतिपक्षी दलले अब प्रतिबद्धता अनुसार मन्त्रीले सच्याएर जानुपर्ने उनको धारणा छ । यस विषयमा सत्तापक्ष संसदीय दलमा पनि छलफल चलिरहेको उनले जानकारी दिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्