साहित्य/कला

जेलबाट रेशम चौधरीको कविता, ‘वाह, क्या जाती हुन्थ्यो !’

By Saru Sunar

September 20, 2019

खैर तिम्रो खुसीमा हामी पनि हाँस्न पाए क्या जाति हुन्थ्यो । अनि संसारसामु सबै नेपालीको शिर क्या माथि हुन्थ्यो ।

धेरैवर्ष पछि बन्यो संविधान–२ संविधानको हरफहरुमा हाम्रो पनि अधिकार मिसिन पाए क्या जाति हुन्थ्यो । अनि बल्ल तिम्रो विजय जुलुसको लहरमा चार वर्ण छत्तिस जातको क्या ताँती हुन्थ्यो । सारा संसार हाम्रो खुसीदेखि दंग पर्थे अरे वाह ! संसार सामु हाम्रो शिर क्या माथि हुन्थ्यो ।

के नै मागेका थियौं र हामीले अरुलाई जस्तै हामीलाई पनि थोरै दिए पुग्थ्यो अलि कति तिमी झुक्थ्यौ अलिकति हामी झुक्थ्यौँ दुबै झुके झुक्ने माथिको आकास कत्ति माथि हुन्थ्यो । संविधान बनेको खुसीमा हामी पनि मुस्कुराउन पाए वाह ! क्या जाति हुन्थ्यो ।

अनि न त नारा जुलुस हुन्थ्यो न त कुटाकुट हुन्थ्यो न कालो दिवस मनाउथ्यौँ न त झ्यापझुप बत्ति निभाउथ्यौँ सबै उज्यालोमा सजिन पाए एकै अङगोलामा बाँधिन पाए वाह ! हाम्रो शिर कति माथि हुन्थ्यो ।

अहिले त तिमी एक्लै खुशियाली मनाउँदैछौं तिमी एक्लै हाँसे, एक्लै नाचे तिम्रो नाच हेर्ने रमिते नै नभए तिमी खल्लो कि आँगन खल्लो ? खल्लो आँगनमा वल्लो पल्लो मिसिन पाए वाह ! क्या जाति हुन्थ्यो

तर तिम्रो अहमताले साझा खुसीमा हामी ताली पड्काउन पनि पाएनौं कम्मर मर्काउन पाएनौं दीपावली गर्न पनि पाएनौं तिमीले जस्तो सोँचे पनि हामीलाई अझै आशा छ तिमीसँगै नाँच्न पाए बारुले कम्मर भाँच्न पाए अझै क्या जाति हुन्थ्यो । हाम्रो खुसीमा आरिस गर्नेहरु अझै जल्थे अनि सम्झ त हाम्रो शिर कत्ति माथि हुन्थ्यो ?

हामीलाई कति दुःख लागेको छ तिम्रो भोजमा हामी सामेल हुन सकेनौं तिमी पल्लो घरमा बसेर भतेर गर्दैछौं हामी वल्लो घरे छिमेकीहरु भतेरको वासना सुघ्दैछौं तिम्रो त एक्लै खाने ऐतिहासिक बानी छ क्यारे खाऊ अघाउनजेल खाऊ तर थाहा पाइराख धेरै खाए विरामी होउलाऊ डाक्टर सापको अस्पताल अन्यौलमा छ अन्ततः थारु गुरुवाले तिम्रो आछत हेर्नैपर्छ दवाई पानी गर्नैपर्छ तिम्लाई सञ्चो पार्नैपर्छ अनि बाध्य भएर लज्जित भई तिमीले हामी थारु गुरुवालाई अंगालो मार्नैपर्छ त्यसैले संविधान जारी गर्‍यौं हाम्रो बधाई छ यत्रो ऐतिहासिक संविधानलाई हामी पनि जलाउन्नौं बरु पढ्छौं हाम्रो पनि कँहीकतै अधिकार उल्लेख छ कि

त्यसैले, आफू आफू मिलेको मिलन पो कति जात्ति हुन्थ्यो अरे वाह ! सबैको सहमतिमा जारी गरेको संविधान संसारमा क्या माथि हुन्थ्यो !!

खैर तिम्रो खुसीमा हामी पनि हाँस्न पाए क्या जाति हुन्थ्यो । अनि संसार सामु हामी सबै नेपालीको शिर क्या माथि हुन्थ्यो ।

(डिल्लीबजार जेलबाट रेशम चौधरीको कविता)