ओमप्रकाश गुप्ता भालुवाङ ३ असोज । दाङ देउखुरीको राप्ती गाउँपालिकाले वक्तृत्वकला प्रतियोगिताको आयोजना गरी संविधान दिवस मनाएको छ । संविधान सफल कार्यान्वयनका लागि हाम्रो भुमिका विषयक वक्तृत्वकला प्रतियोगितामा शंकर मावि पिपरीकी अस्मिता सुनदास प्रथम, नेपाल राष्ट्रिय मावि भालुवाङकी फरिदा खातुन दोस्रो, सर्वोदय मावि सिसहनियाँकी सरिता ढेडीमगर तेस्रो र पत्रकार महेश रिजाल सान्त्वना भएका छन् ।
विजेताहरुलाई पुरस्कार समेत प्रदान गरिएको थियो । गाउँपालिकाकी उपाध्यक्ष जगदम्बाकुमारी चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा नेकपाका राप्ती गाउँपालिका अध्यक्ष धर्मराज अधिकारी, नेपाली कांग्रेस राप्ती गाउँपालिका सभापती दुर्योधन पाण्डे, राजमोका राप्ती गाउँपालिका अध्यक्ष केशवराज खनाल,राप्ती गाउँपालिकाका प्रवक्ता विद्याशरण चौधरी, वडा नम्बर २ का वडा अध्यक्ष जगतबहादुर थापा, राप्ती उद्योग वाणिज्य संघ भालुवाङका अध्यक्ष जगतप्रसाद पोख्रेल, वन महासंघ राप्ती गाउँपालिकाका अध्यक्ष हरि भुसाल, भालुवाङ खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष हस्तबहादुर गुरुङ, साविक लालमटिया गाविसका निवर्तमान अध्यक्ष दोर्ण भुसाल, शिक्षक महासंघ राप्ती गाउँपालिकाका अध्यक्ष कुलराज जैशी लगायतका वक्ताहरुले स्वदेश तथा विदेशमा रहेका सबै नेपालीमा सुख, शान्ति र समृद्धि तथा देशमा राष्ट्रिय एकता, अखण्डता, आपसी सद्भाव कायमको कामना गरेका थिए ।
साथै उनीहरुले संविधान दिवसका अवसरमा लोकतन्त्रको स्थापना र पुनःस्थापनाका लागि भएका ऐतिहासिक जनआन्दोलनहरुमा जीवन उत्सर्ग गर्ने वीर शहीदहरुप्रति उच्च सम्मान प्रकट गर्दै श्रद्धाञ्जली अर्पण समेत गरेका थिए । कार्यक्रमको सञ्चालन प्रमुख प्रशासकिय अधिकृत रामप्रसाद शर्माले गरेका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।