कसैका विरुद्ध पार्टी एकीकरण होइन दाहाल



 

काठमाण्डौ १७ असोज ।माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहालले कम्युनिष्ट पार्टीहरुबीचको एकता र चुनावी तालमेल कांग्रेसविरुद्ध लक्षित नभएको बताएका छन् । एमाले, माओवादी केन्द्र र नयाँशक्ति नेपालबीच चुनावी तालमेल र एकताको प्रक्रिया घोषणाबारे जानकारी दिन आयोजित कार्यक्रममा दाहालले राष्ट्रिय हितको लागि एकता प्रक्रिया सुरु गरेको बताए ।

उनले शान्ति प्रक्रियालगत्तै आफ्नो पार्टीले एउटै कम्युनिष्ट पार्टी निर्माण गर्न थालेको पूरा नभए पनि अहिले यो अधुरो काम पूरा हुन लागेको भन्दै खुशी व्यक्त गरे ।

‘कहिलेकाही राजनीतिमा असम्भव भनिएको काम सम्भव हुन्छ र कहिलेकाही सम्भव ठानिएको काम पनि हुँदैन’, दाहालले भने,‘यो ऐतिहासिक आवश्यकताले जन्मिएको परिस्थिति हो ।’

उनले पार्टी एकीकरण कम्युनिष्टहरुबीच मात्रै भए पनि चुनावी तालमेल भने अन्य लोकतान्त्रिक दलहरुसँग पनि गर्न बाटो खुला रहेकाने बताए ।

उनले नयाँ संविधानले राजनीतिक स्थिरतासहितको समाजवाद उम्मुख राज्यको परिकल्पना गरेकाले कम्युनिष्टबीचको एकीकरण समाजवाद निर्माण गर्ने आधार बताएको दाबी गरे ।

‘हामी समाजवादको नयाँ मोडल तयार पारेर विश्वलाई नै सन्देश दिने उद्देश्यबाट प्रेरित छौं’, दाहालले भने ।

उनले संविधान जारी भएपछि राष्ट्रिय सहमतिको आधारमा संविधान कार्यान्वयन गर्ने संकल्प पूरा नभएको बताए । ‘तत्कालीन प्रधानमन्त्री सुशील कोइराला पुन: प्रधानमन्त्री पदमा उम्मेदवार हुने भएपछि यो योजना पूरा भएन’, दाहालले भने,‘तर अहिले भएको यो तालमेल कांग्रेसविरुद्ध लक्षित होइन् ।
माओवादी र नयाँशक्तिले प्रदेश र प्रतिनिधिसभाको निर्वाचनलगत्तै पार्टी एकता प्रक्रिया अघि बढाउने घोषणा गरेका छन् । पार्टी एकता र आगामी निर्वाचनमा तालमेल घोषणा गर्न राष्ट्रिय सभागृहमा आयोजित पत्रकार सम्मेलनमा माओवादी नेता एवम् गृहमन्त्री जनार्दन शर्माले तीन पार्टीबीच भएको एकीकरणको ७ बुँदे योजना सार्वजनिक गरे ।

तीन पार्टीबीच पार्टी एकताको लागि भएको ६ बुँदे सहमतिको सारांश यस्तो छ : 

  • तीन पार्टीबीच एकीकरण गरी एउटै पार्टी निर्माण गर्ने उद्देश्यका साथ हाललाई ८ सदस्यीय पार्टी एकता संयोजन समिति गठन गर्ने ।
  • समितिमा एमालेबाट ४, माओावदीबाट ३ र नयाँशक्तिबाट १ नेता रहने । विस्तृत खाका र योजना यही समितिले तयार पार्ने ।
  • पार्टीको नीति र विधान तयार पार्न दस्तावेज मस्यौदा समिति गठन गर्ने । प्रदेश र प्रतिनिधिसभा निर्वाचनपछि एकीकरण सम्पन्न गर्ने ।
  • अब बन्ने पार्टीको मुद्दामा बहस गर्न सकिने । सार्वजनिक रुपमा सार्वजनिक टिप्पणी र नकारात्मक टिप्पणी नगर्ने ।
  • आगामी मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभाका निर्वाचनमा माओवादीलाई ४० र एमालेलाई ६० प्रतिशत हुने गरी तालमेल गर्ने ।
  • निर्वाचनमा साझा घोषणा पत्र तयार पार्ने । प्रतिनिधि सभा निर्वाचन घोषणा पत्र मस्यौंदा समिति तयार गर्ने ।
  • निर्वाचनमा तालमेलका लागि अन्य शक्तिलाई पनि आह्वान गर्ने ।

 

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्