वाम तालमेलपछिको नयाँ रणनीति बनाउन कांग्रेसको बैठक बस्दै



सैघाली खबर
काठमाडौं,१८ असोज

नेकपा एमाले र नेकपा माओवादी केन्द्र तालमेल र पार्टी एकताको सहमतिमा पुगेपछि कांग्रेसले आफ्नो रणनीति बनाउने भएको छ । उम्मेदवार छनौटका लागि आज बोलाइएको कार्यसम्पादन समितिको बैठकमा नयाँ रणनीतिका विषयमा छलफल हुनेछ । कांग्रेसका शीर्ष नेताहरू प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा प्रजातान्त्रिक शक्तिहरूसँग एकता गरी अगाडि बढ्नुपर्ने निष्कर्षमा पुगेका छन् ।

आज त्यसमा थप छलफल हुनेछ । आजको बैठकबाट कांग्रेसले वाम एकताका विषयमा औपचारीक धारणा सार्वजनिक गर्नेछ । प्रजातान्त्रिक मोर्चाका साथ निर्वाचनमा जाँदा कांग्रेसलाई कुनै अप्ठ्यारो नपर्ने र वामपन्थी एकता निर्वाचनसम्म पनि नटिक्ने निष्कर्षमा कांग्रेस पुगेको छ ।

कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले राप्रपा अध्यक्ष कमल थापा र संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवसँग भेट गरी प्रजातान्त्रिक मोर्चामार्फत कांग्रेस निर्वाचनमा जान चाहेको बताइसक्नु भएको छ । आजको बैठकमा प्रतिनिधि र प्रदेशसभा सदस्यको निर्वाचनका लागि उम्मेदवार चयन गर्न छिट्टै संसदीय बोर्ड पनि गठन गर्ने कांग्रेस कोषाध्यक्ष सीतादेवी यादवले जानकारी दिनुभयो ।कांग्रेसमा उम्मेदवारका लागि जिल्लाबाट सिफारिस आएपछि संसदीय बोर्डले उम्मेदवारको अन्तिम टुंगो लगाउनेछ । बोर्ड १५ सदस्यीय हुनेछ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्