प्रदेश र प्रतिनिधिसभा चुनावमा एक करोड ५४ लाख मतदाता, सबैभन्दा कम प्रदेश ६ मा



सैघाली खबर
काठमाडौं,१८ असोज

निर्वाचन आयोगले मङ्सिर १० र २१ गने हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि तयार गरिएको सातवटै प्रदेशको निर्वाचन क्षेत्रगत अन्तिम मतदाता संख्या स्वीकृत गरेको छ । स्वीकृत मतदाता नामावली अनुसार, प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि कूल मतदाता संख्या एक करोड ५४ लाख २७ हजार ७३१ कायम भएको निर्वाचन आयोगले जानकारी दिएको छ । जसमा पुरुष मतदाताको संख्या ७७ लाख ७६ हजार ४९६ रहेका छन् भने महिला ७६ लाख ५१ हजार ६५ र तेस्रो लिङ्गी मतदाता १७० जना रहेका छन् । यसअनुसार एकलाख २५ हजार ४३१ पुरुष मतदाता बढी भएका छन् ।
आयोगको निर्णय अनुसार, डोल्पा जिल्ल्लाका काइके र छार्का ताङसोङ गाउँपालिकाका २४० मतदाताको स्पष्ट विवरण प्राविधिक कारणबश यकीन हुन नसकेकाले सम्बन्धित जिल्लाबाट त्यससम्बन्धी विवरण माग गरी प्राप्त भएपछि यकीन गरी मतदाता नामावलीमा समावेश गरिने छ ।सरकारले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचन मिति घोषणा गरेको दिन अर्थात् २०७४ भदौ ५ गतेसम्म १८ वर्ष उमेर पुगेका र फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराएका मतदाताहरूको नाम मतदाता नामावलीमा समावेश गर्ने निर्णय गरेको थियो ।मतदाता नामावली ऐन, २०७३ ले व्यवस्था गरेअनुसार निर्वाचनको मिति घोषणा भएपछि निर्वाचन प्रयोजनका लागि मतदाता नामावलीमा नाम दर्ता गर्न नसकिने भएको हुँदा अब नयाँ नाम दर्ता नहुने र ठाउँसारी पनि नहुने व्यवस्था रहेको छ ।स्वीकृत मतदाता नामावली अनुसार, प्रदेश १ मा २९ लाख ९३ हजार ६६९, प्रदेश २ मा २७ लाख ६७ हजार ३६९, प्रदेश ३ मा ३० लाख ७४ हजार ४१२, प्रदेश ४ मा १५ लाख ६८ हजार ८२९, प्रदेश ५ मा २७ लाख ४० हजार ८४८, प्रदेश ६ मा ८ लाख ४६ हजार ९३३ र प्रदेश ७ मा १४ लाख ३५ हजार ६७१ मतदाता रहेका छन् । देशका ७७ वटै जिल्लाका मतदाताहरूको संख्यात्मक विवरण निर्वाचन आयोगले आयोगको वेभसाइटमा राख्ने जनाएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्