मुख्य समाचार

स्थानीयलाई विकास आयोजनामा झमेला नगर्नुस : मन्त्री पुन

By थाहा अनलाइन

September 22, 2019

ऊर्जामन्त्री वर्षमान पुनले स्थानीय जनतालाई विकास निर्माणका आयोजनामा सकारात्मक वातावरण बनाउन आग्रह गरेका छन् । काठमाडौंमा आयोजित जलविद्युतसम्बन्धी एक अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री पुनले विकास आयोजनामा स्थानीय जनताले सकारात्मक भूमिका खेल्नुपर्ने बताएका हुन् ।

पछिल्लो समय विभिन्न आयोजनामा स्थानीयले अनुचित लोभ देखाउदा लगानी मैत्री वातावरण बिग्रिएको भन्दै मन्त्री पुनले विकासमा अवरोध हुन नदिन सबै सचेत हुनुपर्ने बताए । कुनै नयाँ आयोजना गाउँमा आउना साथ अनेक मागका कारण लगानीकर्ता निराश भएर भाग्ने अवस्था आउन नदिन स्थानिय नै सजग हुनुपर्ने बताए । केन्द्रीय सरकार वा स्थानीय सरकारले नीतिगत रुपमा लगानीको वातावरण बनाउने प्रयासलाई स्थानीय जनताले व्यवहारिक रुपमा विकासमैत्री लगानीमैत्री वातावरण बनाउन आवश्यक रहेको बताए ।

कार्यक्रममा मन्त्री पुनले आयोजना निर्माणकर्ता र लगानीकर्ताले स्थानीयसँग समन्वय गरेर निर्माण प्रक्रिया अगाडी बढाउन आग्रह गरे । मन्त्रालयमा धेरै डेलिगेसन आयोजना निर्माण पक्षले स्थानीयलाई सरोकार नै नराखी समन्वय नगरी काम अगाडी बढाउदा अप्ठेरोमा परेको गुनासो बोकेर धेरै आउने गरेको उनले बताए ।

आयोजनाहरुको सार्वजनिक सुनुवाई नाम मात्रको गर्ने, प्रभावित जनता बसेको स्थानमा नगर्ने, वातावरणीय प्रभाव मुल्यांकन हचुवाको भरमा गर्ने, स्थलगत अध्ययन र स्थानीयको सहभागिता नराखी गरिने भन्दै मन्त्री पुनले आयोजना निर्माण पक्षले सरकारले तोकेको र गर्नु भनेको सम्पूर्ण काम वास्तविक रुपमा गर्न आग्रह पनि गरे ।

कार्यक्रममा मन्त्री पुनले मोदी खोलाको जलविद्युत आयोजनाहरुले परेको वातावरणीय प्रभाव मुल्यांकन सम्बन्धि प्रतिवेदन सार्वजनिक गरेका थिए । सरकारले विद्युत ऐन सम्बन्धी मस्यौदा तयार गरि सार्वजनिक प्रतिक्रिया र छलफलको लागि मन्त्रालयको वेबसाइटमा राखेको भन्दै मन्त्री पुनले त्यसमाथि अध्ययन गरि सुझाव दिन आग्रह गरेका छन् । मन्त्री पुनले विद्युत ऐनको मस्यौदामा विद्युत उत्पादनमा सबै तहका सरकारले उत्पादन विकास र वितरण समेत गर्न सक्ने गरि अधिकार बाँडफाँड गरेको बताए ।