साहित्य/कला

म ? पाटेबाघ हुँ

By Thah Online

September 24, 2019

भन्नेहरूले जेसुकै भनून् ठान्नेहरूले जस्तोसुकै ठानून् देख्नेहरूले जे देख्छन् देखून् बुझ्नेहरूले जसरी बुझ्छन् बुझून् म ….? म नै हुँ ! जर्साबको दरबारमा पालिएको चेइचेइ गर्नासाथ पुच्छर हल्लाउँदै जर्साबकै खुट्टा चाट्ने पाल्तु कुकुर होइन म आफ्नी आस्थालाई बध गरेर क्रय–विक्रय गर्ने ‘कसाही’ होइन म, सानोेतिनो स्याँठदेखि कायलनाम भएर लुगलुग काप्दै छिनभरमै भूईँमा पधारिने केराको पात होइन म, म त सतिसाल हुँ, म त पहरा हुँ कसैका सामु धनुष्टङ्कार गर्न जानेको छैन मैले, म नौनी झैँ पग्लिएर सल्र्याङ्सुर्लुङ् भएर आफ्नै उचाइ छाडेर आफ्नै स्वाभिमान गुमाएर भूईँ ढोग्न आइपुग्ने बाँसको लिङ्गो होइन म त हिमाल हुँ हिमाल ! कसैले बाले बल्ने कसैले निभाए निभ्ने अगुल्टो या अन अफ हुने स्वीच होइन, म त आफ्नै नियम–विनियमअनुसार निरन्तर कर्तव्यवान यात्री ‘सूर्य’ हुँ मेरो वरिपरि ठोक्किने कीराहरूलाई मेरै दिप्तीले डडाएर भ्रस्मखरानी पारिदिन्छु । ००००००००००००० नर्तकीहरूले नचाउन खोज्लान् सपेराहरूले खेलाउने दुस्साहस गर्लान् सर्कसेहरूले अभिनय गर्न निमन्त्रणा कार्ड पठाउलान् जादूगरीहरूले जादू सिकाउन खोज्लान् तर सक्ने छैनन् तिनीहरूले किनकि म, कसैको हातमा बसेर थैथै नाच्ने पुतली हैन जता पल्टियो त्यतै पल्टिने गुडिया हैन

००००००००० अभावै अभावको यो शहरमा दबाबै दबाबको यो राजधानीमा कलाबजारियाहरूले बन्दग राख्न अनुनयविनय गर्दै भाउ तोक्न सक्छन् मेरी आमाको, भन्दिनू ती कालाव्यापारीहरूलाई भन्दिनू, म आफ्नै आमालाई बन्दग राखेर नक्कली सास फेर्न जन्मेको ढोँगी खलाँती होइन, मलाई त जीवनभर आमाजस्तो देश चाहिन्छ देशजस्तै आमा चाहिन्छ । ००००००००००० हो म ख्याउटे हुँला हो म विपन्न हुँला हो मेरा बाआमा, दिदीबहिनी, भाउजूमाइजूहरू सिसूपाल होलान्, मेरा दाजुभाइ, मामा, भेनाहरू विदेशिएका होलान,् मेरा छोराछोरीहरू चरनाम होलान् र पनि म मरेर बाँच्न चाहन्न बाँचेर मर्न जन्मेको मान्छे म, मलाई सधैँ नेपाल नामको देश चाहिन्छ सगरमाथा नामको हिमाल चाहिन्छ । ००००००००० मैले गर्न नहुने के गरेको छु र ? मैले भन्न नहुने के भनेको छु र ? मैले लेख्न नहुने के लेखेको छु र ? मैले बोल्न नहुने के बोलेको छु र ? मैले खान नहुने के खाएको छु र ? कसैको डराएको छैन कसैको केही बिराएको छैन वर्षमा एकचोटी स्खलित हुने उत्ताउलो खहरेले कसरी देख्न सक्छ र महासागर मलाई ? बरु मैमाथि थुपारिदिन्छ दिसा–पिसाब, फोहोर–मैला, जीवनभरि गद्दारी गरेर नथाकेकाहरूले, गद्दार नै देख्न सक्छन् । अनेक आरोपप्रत्यारोप लगाउन सक्छन् । लोभी ब्वाँसाहरूले लोभी नै भन्न सक्छन् । कायरहरूले कायर नै देख्नसक्छन् । साँघुरोमै रमाउने पानीपोखरीहरूले, कसरी देखून् र नदी ? जिन्दगीभरि भम्र छर्न जन्मेका ‘गोयवल्स’ हरूले कसरी देख्छन् ‘हरिशचन्द्र’ ? बिनावास्ना पनि हाँस्न सक्ने उन्यूका मुन्टाहरूले, कसरी देखून् लालीगुराँस ? व्यभिचारीहरूले कुुुन नाकले भनून् र सदाचारी ? ०००००००००००००००००० यो धर्ती मेरो हो तिनीहरूको हो भने, यो माटोमा मेरो पनि भागबण्डा हुनुपर्छ तिनीहरूलाई हुन्छ भने, मैले त सुनको विहान चाहेको हुँ मैले त नूनको डोल्पा रोजेको हुँ त्यसैले, भित्र या बाहिरकाले जेसुकै भनून्, आफन्त या पराईले जस्तोसुकै ठानून्, साथी–सङ्गी या सहयात्रीहरूले जे सोच्छन् सोचून्, म …? म नै हुँ, म ओवामाको गद्दी वरिपरि रखूवारी गर्न वासिङ्टनमा बाँधेर राखिएको ‘नेपालीजात’ को कुकुर हैन, म त यतै कतै, नेपाली जङ्गलमा सधैँ गर्जिरहने दुलर्भ जन्तु बाघ हुँ यही नेपाली घनाजङ्गलको ‘राष्ट्रपति’ पाटेबाघ हुँ । गोरखा, मिरकोट २०६८।११।२९