मौसम उघ्रिन अझै समय लाग्ने, ‘हिले दशैं’ बन्न सक्छ !



काठमाडौं । मनसुन सकिए पनि यो वर्ष पानी परिरहेको छ । साविकअनुसार यस वर्षको मनसुनको समय अवधि दुई दिनअघि नै सकिएको छ।

तर, मनसुन सक्रिय गराउने न्यूनचापीय रेखा अझै नेपालको आसपासमै भएकोले मनसुन चक्रको अन्त्य नभएको मौसम विद्को भनाइ छ ।

जानकारहरुका अनुसार नेपालबाट मनसुन विदा हुन पश्चिमी वायूको प्रभाव बढ्नुपर्छ तर अहिलेसम्म त्यो देखिएको छैन। बरु मध्य मनसुनकै जस्तो देशैभरी दक्षिणपूर्वी वायूकै प्रभाव छ।

सामान्यतया नेपालमा जुन १० तारिकमा मनसुन प्रवेश गर्ने र सेप्टेम्बर २३ मा बाहिरिने गर्छ। तर, विगत केही वर्षदेखि मनसुनी गतिविधिले पुरानो सेड्युल अनुशरण गर्न कम गर्दै गएको मौसमविद् बताउँछन् ।

यति बेला मनसुनी न्यूनचापीय रेखा औसत स्थानभन्दा दक्षिणतर्फ छ। यो भनेको मनसुनी गतिविधि सक्रिय नै रहँदाकै जस्तो अवस्था हो।

मौसम विश्लेषण
मौसम विश्लेषण : हाल मनसुनी न्यून चापीय रेखा (Axis of the Monsoon Trough) औसत स्थानको आसपासमा रहेको छ। नेपालको मध्य र पूर्वी भागमा दक्षीणपूर्वी जलबास्पयुक्त हावाको प्रभाब देखिएकोले मनसुनल गतिविधि बढने देखिन्छ।तलको नक्शामा मनसुनी न्यून चापीय रेखा (Axis of the Monsoon Trough) को औसत स्थान देखाइएको छ।

दशैं हिले बन्न सक्छ

अहिलेको अवस्थालाई हेर्ने हो भने यो वर्ष हिले दशैं हुने सम्भावना देखिन्छ ।

मौसमविद्हरुले ठोकुवा नगरेको भए पनि अहिलेको अवस्थाले दशैंको दिनसम्मै सानो, ठूलो पानी पर्न सक्ने पूर्वानुमान भने गरेका छन् ।

अहिले पनि मनसुनी गतिविधि चलिरहेकाले दशैंसम्म पानी पर्ने क्रम जारी रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

मौसम पूर्णरुपमा क्लियर भएर उघ्रिन कम्तिमा एक हप्ता लाग्ने छ । त्यसपछि मात्रै नेपाली जमीनमा पूर्णरुपमा घाम लाग्ने छ ।

३ दिनको मौसम यस्तो छ 

आज (बिहीबार) देशैभरको मौसम पूर्णदेखि आंशिक बदली छ। केही ठाउँमा हल्का वर्षासमेत भइरहेको मौसमविद् अर्यालले जानकारी दिए।

आज दिउँसो पनि घाम लाग्ने सम्भावना छैन। एकैछिन घाम लागेपनि फेरि बादलले ढाक्ने र देशका केही स्थानमा भारी वर्षासमेत हुने अनुमान मौसमविद्को छ।

काठमाडौं उपत्यकामा पनि पूर्ण रुपमा मौसम बदली छ। आकाश बादलले ढाकेको छ। काठमाडौँ उपत्यकामा गएको २४ घण्टामा २८ दशमलव ८ मिलिलिटर वर्षा भएको छ।

गएको राति पनि काठमाडौँ उपत्यकामा वर्षा भएको छ।

आजको मौसम

दिउँसोः देशभरी सामान्य बदली रहनेछ। देशका केहि स्थानमा मेघ गर्जन रचट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ। देशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

रातिः देशभरी सामान्य बदली रहनेछ। देशका केहि स्थानमा गर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

असोज १० गते

दिउँसोः देशभरी आंशिक देखि सामान्य बदली रहनेछ। देशका केहि स्थानहरुमा मेघ गर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षा हुनेछ। देशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

रातिः देशभरी सामान्य बदली रहनेछ। पुर्वका थोरै साथै मध्य तथा पश्चिमका केही स्थानहरुमा मेघ गर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षा हुनेछ। देशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

असोज ११ गते

दिउँसोः देशभरी सामान्य बदली रहनेछ। देशका केहि स्थानहरुमा मेघ गर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षा हुनेछ। देशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

रातिः देशभरी सामान्य बदली रहनेछ। देशका केहि स्थानहरुमा मेघ गर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षा हुनेछ। देशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्