वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले जलवायु परिवर्तनका कारण विश्वव्यापी चुनौतीका रुपमा सिर्जित संकट समाधानका लागि गम्भीर बन्न विश्व नेताहरुलाई अपिल गरेका छन् ।
समस्या समाधानका लागि समयमै उचित कदम नचालिए पृथ्वी र मानव अस्तित्व नै संकटमा पर्ने खतरा बढेकोतर्फ उनले नेपालको तर्फबाट विश्व समुदायको ध्यानाकर्षण गराएको उनको निजी सचिवालयले जनाएको छ ।
संयुक्त राष्ट्रसंघको आयोजनामा अमेरिकाको न्यूयोर्कमा भएको जलवायु कार्य्शिखर सम्मेलनको ‘अ कल फर एक्सनः रेजिङ एम्बीसन फर क्लाइमेट एडप्टेशन एण्ड रेजिलियन्स र ‘कम्युनिटी रेजिलियन्स पार्टनरसिप प्रोगाम’ मा सम्बोधन गर्दै मन्त्री बस्नेतले यस्तो अपिल गरेका हुन् । मन्त्री बस्नेतले समस्याको दीर्घकालीन र दिगो समाधानका लागि सबैले हातेमालो गर्नुपर्नेमा जोड पनि दिएका छन् ।
जलवायु परिवर्तनका कारण नेपालजस्ता हिमाली मुलुक बढी प्रभावित भएको चर्चा गर्दै मन्त्री बस्नेतले जलवायु परिवर्तन अनुकूलनका दिगो र प्रभावकारी कार्यक्रम तय गर्नुपर्ने बताएका छन् ।
एसियाली विकास बैंकको आयोजनामा भएको अर्को कार्यक्रममा मन्त्री बस्नेतले नेपालले जलवायु अनुकूलन क्षमताको विकास र अनुसन्धानको कामलाई महत्वका साथ अघि बढाएको बताएका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।