दाङ, असोज ११ – राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान बचाऔं अभियानले उपकुलपति संगिता भण्डारी विरुद्ध घोराहीमा शनिवार प्रदर्शन गरेको छ ।
उपकुलपति भण्डारीले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मनोमानी गरेको कारण प्रतिष्ठानको यस्तो हालत भएको आरोप लगाउँदै अभियानले आज प्रदर्शन गरेको हो ।
प्रदर्शनमा सहभागीहरुले ‘आधारभूत स्वास्थ्य सेवा ग्यारेन्टी गर, प्रतिष्ठान ध्वस्त पार्न पाइँदैन, उपकुलपति राजीनामा दे’ जस्ता नारा लगाएका थिए ।
प्रदर्शन पश्चातको कार्यक्रममा बोल्ने वक्ताहरुले स्वास्थ्य सेवामा देखिएको समस्या समाधान गर्न प्रदर्शन गर्नुपरेको बताएका थिए ।
प्रतिष्ठानका २३ डाक्टरहरुले कामगर्ने वातावरण नभएको भन्दै भदौ ७ मा सामूहिक राजीनामा दिए पछि अहिले यहाँको स्वास्थ सेवा अलपत्र परेको छ ।
चरम राजनीतिक हस्तक्षेपको शिकार बनेको प्रतिष्ठानको समस्या दिन प्रतिदिन विकराल बन्दा आधारभूत स्वास्थ्य सेवा पाउन समेत समस्या भएको छ ।
तस्बिर : निमुससंगम घर्ती
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।