संसदमा एकैपटक ८ वटा विधेयक पारित गर्ने



सेैघाली खबर,
काठमाडौं, २० असोज । – व्यवस्थापिका संसदको बैठक आज बस्दैछ । बैठकमा चुनावसम्बन्धी दुईवटासहित ८ वटा विधेयक ‘फास्ट ट्रयाक’बाट पारित गर्ने तयारी रहेको संसद सचिवालयले जनाएको छ ।
दिउँसो १ बजेपछि बस्ने बैठकले राष्ट्रियसभा सदस्य चुनाव र राष्ट्रपति तथा उपराष्ट्रपतिको चुनाव सम्बन्धी विधेयक पारित गर्ने कार्यसूची तय भएको संसद सचिवालयले जनाएको छ ।

सचिवालयका अनुसार यी विधेयकमा २३ वटा संशोधन विधेयक दर्ता भए पनि समितिमा छलफल नगरी सिधै पारित गर्ने योजना छ । विधेयकमाथिका संशोधन प्रस्तावमा संसदमै छलफल गर्ने, परेका संशोधनलाई निर्णयार्थ प्रस्तुत गर्ने र विधेयक पारित गर्ने तयारी गरिएको छ ।

सामान्यतया विधेयकमा परेको संशोधनमाथि संसदीय समितिमा दफावार छलफलसहित सहमतिको प्रतिवेदन तयार पारेर संसदमा पेस गर्नुपर्ने हो । तर, अब कात्तिक ४ गतेसम्म मात्र कार्यकाल रहेको संसदले टुंगो लगाउनुपर्ने विधेयक धेरै रहेकाले चुनावसम्बन्धी यी विधेयकलाई संसद्मा सामान्य छलफल गराएर टुंगो लगाउन लागिएको संसद् सचिवालयले जनाएको छ ।

आउँदो मंसिरमा हुने प्रदेश तथा प्रतिनिधिसभा सदस्य चुनावको लागि कात्तिक ५ गते उम्मेदवारी दर्ताको मिति तोकिएको छ । संविधानअनुसार प्रतिनिधिसभा सदस्यको चुनावको लागि उम्मेदवारी मनोनयनको अघिल्लो दिनसम्म चालू संसद् रहनेछ ।

आजको बैठकमा अरु ६ वटा विधेयक पनि पारित गर्ने तयारी रहेको संसद सचिवालयले जनाएको छ । संसदमा हाल २९ वटा विधेयक विचाराधीन अवस्था छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्