क्रिकेटको क्रेज बढ्दै, हर्नोकमा क्रिकेट प्रतियोगिता सुरु



निमु सगमं घर्ती,
घोराही, २० असोज।
घोराही उपमहानगरपालिका १ हर्नोकमा शुक्रबार देखी क्रिकेट प्रतियोगिता सुरु भएको छ । भिक्टोरीया राईडर क्रिकेट क्लवको आयोजनामा सुरु भएको प्रतियोगिताको घोराही उपमहानगरपालिकाका नगर प्रमुख नरुलाल चौधरीले व्याटिङ र वडा नम्बर १ का अध्यक्ष राममणि पाण्डेले बलिङ गरेर उद्घाटन गर्नुभएको छ ।

क्लवका अध्यक्ष भुपेन्द्र थापाको अध्यक्षता एवं नगर प्रमुख चौधरीको प्रमुख आतिथ्यतामा भएको उद्घाटन कार्यक्रममा बोल्ने बक्ताहरुले क्रिकेट खेलले नेपाललाई अन्तराष्ट्रिय क्षेत्रमा चिनाएको भन्दै राज्यले लगानी बढाउनु पर्ने बताएका छन् ।

खेल मैदान, खेलाडीलाई प्रशिक्षण, खेल विमा र खेलाडीलाई हौसला दिन राज्यले आफ्नो दायित्व सम्झनु पर्ने बक्ताहरुको भनाई छ । कार्यक्रममा नगर प्रमुख नरुलाल चौधरीले खेलमा अनुशासन भए मात्रै जित हासिल गर्न सकिने भएकाले हरेक क्षेत्रमा अनुशसानको खाँचो रहेको बताउनुभयो ।

खेलक्षेत्रका बिकास गर्न घोराही उपमहानगरपालिकाले सम्भव भएका प्रत्येक वडामा खेल मैदान बनाउने, खेलाडीहरुलाई प्रशिक्षणको व्यवस्था मिलाउने र खेलाडीको खेल बिमा बनाउने योजनालाई अघि सारेको जानकारी दिनुभयो ।

खेलबाटै अनुशासनको शिक्षा लिन सकिने भन्दै उहाँले स्वास्थ्य र मनोरन्जनमा पनि खेलेका माध्यमबाट फाईदा लिन सकिने भएकाले बिद्यालय तहबाटै खेलको प्रबद्र्धन गर्नुपर्नेमा जोड दिनुभयो ।

अम्बिका माबिका प्रधानाध्यापक नारायणप्रसाद पोख्रेलको स्वागत मन्तव्यबाट सुरुभएको कार्यक्रममा वडा नम्बर १ का अध्यक्ष राममणि पाण्डे, २ का अध्यक्ष केशब आचार्य, १३ का अध्यक्ष रविलाल घर्ती, अम्बिका माबि हर्नोकका बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरीबहादुर गोराथोकी, रेडियो मध्यपश्चिमका समाचार प्रमुख निमुसंगम घर्ती लगाएतले खेल क्षेत्रको प्रर्बद्धन गर्नु सबैको दायित्व बनेको बताउनुभयो ।

कार्यक्रमको सहजिकरण शिक्षक मधुसुदन भटराईले गर्नुभएको थियो भने कार्यक्रममा बालबालिकाहरुले नृत्य देखाएका थिए । एक साता चल्ने प्रतियोगितामा विभिन्न ७ वटा क्रिकेट क्लवहरुको सहभागिता रहेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्