नेपालको माटोलाई सदुपयोग गरी सुन फलाउन सकिने



रमेश विश्वकर्मा
गुल्मी / पछिल्लो समय धेरै युवाहरुको एक मात्र सपना रहेको छ, विदेश गएर पैसा कमाउने । छोरालाई विदेश पठाउनकै लागि घरपरिवार आफन्तले ऋण धन गर्न तयार छन् । स्वदेशमा लगानी गर्ने वातवरण र प्राप्त रोजगारी नभएको भन्दै हजारौं युवाहरु विदेश पलायन भइरहेका छन् । तर, मेहनत र लगनशीलताका साथ काम गर्ने हो भने स्वदेशमै पनि केही गर्न सकिन्छ भन्ने थुप्रै उदाहरण पनि छन् । त्यस्तै मध्येका एक हुन गुल्मी रेसुङ्गा नगरपालिका १० सिमिचौरका ४० वर्षिय कृषि व्यवसायी विनोद कुँवर । उनले छोटो समयमै आफुलाई सफल व्यवसायीको रुपमा चिनाएका छन् ।

विभिन्न दुःख, कष्ट र समस्याबाट गुज्रिएता पनि साहस र हौसलाका साथ अघि बढेका कुँवर जिल्लामै आफ्नो फरक पहिचान स्थापित गर्न सफल भएका छन् । नेपालमै बसेर केही गर्नुपर्छ भन्ने उद्देश्यले तरकारी व्यवसायी सुरु गरेका उनले नेपालमै गरे के हुँदैन, चाहने हो भने सुन पनि नेपालमै उब्जाउन सकिन्छ भन्ने एउटा गत्तिलो उदाहरण पेश गर्न सफल भएका छन् । कृषक कुँवरले व्यवसायिक कृषि गरी मासिक २ लाख रुपैयाँ आम्दानी गर्ने गरेका छन् । उनको ६ जनाको परिवारलाई यही पेशाबाटै पाल्दै आएका छन् । त्यत्ति मात्र होइन उनले ७ जनालाई मासिक १० हजारका दरले रोजगारी समेत दिएका छन् । कुँवरले विनोद कृषि फर्म दर्ता गरी ६० रोपनी जग्गामा ५० लाख लगानी गरी अहिले लटरम्मै घिरौला, लौका, सिमी काउली र टमाटर फलाएका छन् । कुँवरले ८ वटा प्लाष्टिक टनेलमा बइनसरी जातको टमाटर लगाएका छन् । अहिले टमाटर फल्ने क्रममा रहेको छ, भने सिंचाइका लागि ३ वटा प्लाष्टिक पोखरीमा पानी जम्मा गरी राखेका छन् । कुँवरले तरकारी बाहेक लोकल कुखुरा, बोईलर लगायत बाख्रा समेत पाल्दै आएको बताउँछन् ।

जिल्लामा लोकल कुखुरा चाहिएमा कुँवरलाई पहिले नै फोन जान्छ । कँुवरका अनुसार ७÷८ जनाको परिवार पाल्न, छोराछोरीहरु पढाउन र मासिक २ लाख कमाउन कोरिया जानुपर्दैन, घरको परिवारसँग बसेर काम गर्नुको आनन्द फरक छ । पहिले विदेश जानका लागि योजना पनि बनाए तर नेपालमा नै केही गर्नुपर्छ भन्ने लागेर कृषि व्यवसायीमा लागेको कुँवर बताउँछन् । उनले भने ‘सुरु–सुरुमा काम गर्न लाग्दा अरुका छोराहरुले विदेशमा गएर पैसा कमाएका छन्, यसले बिग्रने काम गर्दैछ जस्ता शब्दहरु समेत गाउँलेहरुले भन्ने गर्थे, तर अहिले उनीहरुले नै स्याब्बासी दिने गरेका छन् ।’ उनले दुई छोरा र एक छोरीलाई निजी विद्यालयमा पढाउँदै आएका छन् । कुँवर बिहान ६ बजेदखि फर्ममा नै व्यस्त हुन्छन् । उनले आफुले उत्पादन गरेको तरकारी जिल्ला कारागार कार्यालय र रिडर्स बोडि·लाई पु¥याउने ठेक्का समेत लिएको बताउँछन् । कुँवरले कारागारमा आवश्यक पर्ने मुढा बुन्नका लागि चाहिने बाँसको व्यवस्था समेत गर्दै आएका छन् । मेहनतमा विश्वास गर्ने उनले उर्जावान युवाहरुलाई विदेश नजान आग्रह गर्छन् ।

नेपाल कृषि प्रधान देश हो, नेपालमा हावापानी र माटोले पनि साथ दिएको छ त्यसैले नेपालको माटोलाई सदुपयोग गरी सुन फलाउन सकिने उनको धारणा रहेको छ । विदेशमा गएर विदेशीको गुलामी बन्नु र दलालीको हातबाट नफसी घरपरिवारसँगै रमाउँदै मासिक दुई लाखसम्म कमाउन सक्ने आधारहरु भएकाले कृषिमा नै लाग्न उनले युवाहरुलाई सुझाव दिन्छन् ।

कुँवर भन्छन् ‘काम गर्न सक्ने उमेर विदेशमा नै खर्चिने र पछि उमेर सकिएपछि पछुताउने चलनलाई अन्त्य गर्नुपर्दछ ।’ उनले आगमी दिनहरुमा कृषि पेशामार्फत नमूना बन्न तरकारी खेतीको क्षेत्रफललाई वृद्धि गर्ने, ढुवानीका लागि गाडी खरिद गर्ने, हाइटेक टनेलहरुलाई विस्तार गर्ने र माछापोखरी निर्माण गर्ने बताए । उनले आफूलाई प्रदेश पाँचकै नमूना कृषकको रुपमा चिनाउनका लागि काम गर्ने योजना रहेको पनि सुनाए । यसका लागि स्थानीय तह र प्रदेश सरकारले केही सहयोग गर्छ की भन्ने आशा त छ तर कहीँ कतैबाट सहयोग नभए पनि आफ्नो योजनालाई सफल बनाएरै छाड्ने कुँवरले दाबी गरे ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्