कृष्ण सेनको १५ औं स्मृति दिवस मनाइयो



111सेन स्मृति पुरस्कार उदय, नरेन्द्र र नदीरामलाई

दाङ, १३ जेठ । पत्रकार एवम् साहित्यकार कृष्ण सेनको स्मृतिमा जिल्लामा स्थापना गरिएका तीनवटा पुरस्कारहरु पत्रकारद्वय उदय जीएम, नरेन्द्र केसी र साहित्यकार नदीराम केसीलाई प्रदान गरिएको छ । सेनको १५ औं स्मृति दिवसको अवसरमा आज (शनिबार) दाङको घोराहीमा आयोजित कार्यक्रममा ती पुरस्कारहरु प्रदान गरिएको हो ।
नेपाल पत्रकार महासंघ, प्रेस सेन्टर नेपाल र जनसाँस्कृतिक महासंघ दाङले संयुक्त कार्यक्रम गरी सेनको स्मृति दिवस मनाएका हुन् ।
नेपाल पत्रकार महासंघ दाङ शाखाले स्थापना गरेको कृष्ण सेन स्मृति पत्रकारिता पुरस्कार पत्रकार उदय जीएमलाई प्रदान गरिएको छ । पुरस्कारको राशी रु. ५ हजार रहेको छ । द हिमालयन टाइम्सका कार्यरत पत्रकार जीएम झण्डै दुई दशकअघिदेखि दाङमा रहेर पत्रकारिता गरिरहेका छन् ।
प्रेस सेन्टर नेपाल दाङ शाखाले स्थापना गरेको कृष्ण सेन इच्छुक स्मृति पत्रकारिता पुरस्कारबाट पत्रकार नरेन्द्र केसी सम्मानित भएका छन् । पुरस्कारको राशी १० हजार रुपैयाँ रहेको छ । डेढ दशकअघिदेखि पत्रकारिता शुरु गरेका केसी हाल नयाँ युगबोध दैनिकका सह–सम्पादक रहेका छन् ।

सेन स्मृति साहित्य पुरस्कार नदीराम केसीलाई
त्यस्तै, जनसाँस्कृतिक महासंघ नेपाल दाङले स्थापना गरेको कृष्ण सेन इच्छुक स्मृति साहित्य पुरस्कार रुकुमका साहित्यकार नदीराम केसीलाई प्रदान गरिएको छ । सेन स्मृति साहित्य पुरस्कारको राशी १० हजार रुपैयाँ रहेको छ ।
४० को दशकदेखि नै साहित्य लेखनमा सक्रिय केसीको विद्रोहको गीत उपन्यास (२०६४), रुकुमको साहित्यको ऐतिहासिक रुपरेखा (२०६५) कृतिका रुपमा प्रकाशित छन् भने थुप्रै फुटकर कविता, गीत तथा साहित्यिक लेखरचनाहरु विभिन्न पत्रपत्रिकामा प्रकाशित भइसकेका छन् ।
साहित्यकार केसी राप्ती साहित्य परिषद् रुकुम शाखाका पूर्वअध्यक्षका साथै अखिल नेपाल जनसाँस्कृतिक संघ, अखिल नेपाल लेखक संघ, सिर्जनशील साहित्य परिषद् रुकुम, गणतान्त्रिक साहित्य परिषद् रुकुमलगायत विभिन्न साहित्यिक संघ संस्थामा काम गरिसकेका छन् ।
शनिबार घोराहीमा आयोजित कार्यक्रममा अग्रज पत्रकार एवम् साहित्यकार नारायणप्रसाद शर्माले पुरस्कृत प्रतिभाहरुलाई खादा र सम्मान पत्र प्रदान गरेका थिए । सो अवसरमा नेपाल पत्रकार महासंघ दाङ शाखाका पूर्वअध्यक्ष प्रेस स्वतन्त्रता सेनानी सुशील गौतमले सेनको साहित्य, पत्रकारिता र राजनीतिक व्यक्तित्वका बारेमा चर्चा गरेका थिए ।
कार्यक्रममा नेकपा (माओवादी केन्द्र)का पोलिटव्यूरो सदस्य तथा दाङका सहइन्चार्ज हेमराज शर्मा ‘डायमण्ड’, जनसाँस्कृतिक महासंघ नेपालका केन्द्रीय सचिव भीम कुमाखी, राप्ती साहित्य परिषद्का अध्यक्ष पुरुषोत्तम खनाल, पुरस्कृत प्रतिभा नदीराम केसी र नेपाल पत्रकार महासंघ कतार शाखाका अध्यक्ष गणेश बञ्जाडेले सेनप्रति श्रद्धाञ्जली व्यक्त गरेका थिए ।
महासंघ दाङ शाखाका अध्यक्ष सविन प्रियासनको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन प्रेस सेन्टर नेपाल दाङका अध्यक्ष डिल्ली मल्लले गरेका थिए भने स्वागत जनसाँस्कृतिक महासंघ नेपाल दाङका अध्यक्ष टीका बुढामगर ‘रञ्जित’ले गरेका थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्