दसैं उत्पीडन र आतंकको नभई बुद्धि र भाइचाराको स्मारक बन्नुपर्ने पूर्वराजाको धारणा



काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले हाम्रो उद्धेश्य हाम्रो देश र हाम्रो पूरै देशको उन्नति बाहेक अरु केही हुन नहुने बताएका छन् ।

वडा दशैंको शुभकामना ब्यक्त गर्दै उनले भगवानको आशीर्वादले यो देश आफै उत्पीडन र आतंकको नभई बुद्धि र भाइचाराको स्मारक बन्नुपर्ने बताएका हुन् ।

उनले राष्ट्रियता धर्मराएको, शान्ति र अमनचैन हराएको र फेरि पनि विद्रोहको भुसको आगो भित्रभित्रै सल्कँदै गएको अवस्थाले कसैको हित नहुने बताएका छन् ।

उनले प्रतिकार, प्रतिवाद, दमन र नियन्त्रणको कार्यविधि भन्दा सम्याउने, सुल्झाउने, सच्याउने र आफ्नै राष्ट्रिय आदर्श बमोजिम समझदारीका साथ अघि बढ्ने अटुट प्रयत्न हुनुपर्दछ भनेका छन् ।

विभिन्न राजनीतिक दलका नेताहरुलाई सम्झाउने क्रममा पूर्वराजाले भने, ‘नेपाल हाम्रो हो, हामी नेपाली हौं र नेपालको आफ्नो मौलिकपन नै हाम्रो अस्तित्व हो भन्नेकुरा हामीले बुझ्नै पर्ने हुन्छ ।’

उनले विजया दशमीको अवसरमा देश र विदेशमा भएका सम्पूर्ण नेपालीलाई सुख, शान्ति र सम्वृद्धिको लागि शुभकामना ब्यक्त गरेका छन् ।

उनले जारी गरेको शुभकामनामा भनेका छन्, ‘श्री नवदूर्गा भवानीले हाम्रा सबै आसुरी र स्वार्थी व्यवहारको विनाश गरी हामीलाई हाम्रो सनातनिक सत्य पथतर्फ अभिप्रेरित गरुन् ।’

सदाझैं राजपरिवारले आफ्ना शुभचिन्तकहरु लाई दशैंको टीका लगाइदिने प्रचलन कायमै राखेको छ । गतवर्षको टीकामा धेरै सर्वसाधारणको उपस्थिति रहेको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्