कांग्रेसबाट सर्वसम्मत सिफारिस भएका ६ उम्मेदवार



सैघाली खबर,काठमाणडौ २२ असोज।मंसिर १० र २१ गते हुने प्रतिनिधि सभाका लागि नेपाली कांग्रेसका ६ उम्मेदवार आफ्नो क्षेत्रबाट सर्वसम्मत सिफारिस भएका छन्।

अहिलेसम्म कांग्रेसका ५८ वटा जिल्ला समितिले उम्मेदवारी सिफारिस गरिसकेका छन्। तीमध्ये झापाका २, मोरङका २, डडेल्धुरा र प्युठानबाट केन्द्रीय संसदका लागि एकरएक जना सर्वसम्मत उम्मेदवार सिफारिस भएको कांग्रेस केन्द्रीय कार्यालयमा उम्मेदवारको सूची राख्ने एक कर्मचारीले बताए।

प्रधानमन्त्री र पार्टी सभापति समेत रहेका शेरबहादुर देउवा डडेलधुराबाट सर्वसम्मत सिफारिस भएर आएका छन्।

झापाको क्षेत्र नम्बर १ बाट विश्वप्रकाश शर्मा र २ बाट कृष्ण सिटौलामात्रै कांग्रेस प्रतिनिधिसभाको उम्मेदवारका लागि सिफारिस भएका छन्।

त्यस्तै प्यूठान कांग्रेसले आफ्ना उम्मेदवारको नाम सर्वसम्मतिले सिफारिस गरेको छ। यहाँबाट राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत गोविन्द पोखरेलको नाममात्र सिफारिस भएको छ।

मोरङ क्षेत्र नम्बर १ मा डिगबहादुर लिम्बु र क्षेत्र नम्बर ५ मा अमृत अर्याल सर्वसम्मत सिफारिस भएका छन्।

कांग्रेसले सकेसम्म क्षेत्रबाटै उम्मेदवारी टुंगाउन नसके सिफारिस पठाउन आफ्ना स्थानीय संयन्त्रलाई असोज १७ गते सम्मको समय दिएको थियो। तर अहिलेसम्म जम्मा ५८ जिल्लाबाट सिफारिस आएको र अन्यत्रबाट आउने क्रम जारी रहेको ती कर्मचारीले बताए।

प्रदेश नम्बर २ बाट पर्साले मात्र उम्मेदवारको नाम सिफारिस गरेर पठाएको छ। अन्य ७ जिल्लाबाट त सिफारिसै आएको छैन। अन्य प्रदेशका रूकुम नवलपरासी लगायत ११ जिल्लाबाट सिफारिस आउन बाँकी भएको कांग्रेस कार्यालयले जनाएको छ।

प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवार भने संसदीय बोर्डले तय गर्नेछ। टिकट वितरण गर्न यस्तो बोर्ड बनाउने पार्टी विधानमै उल्लेख छ। तर यस्तो बोर्ड भने अहिलेसम्म बनेको छैन।

शुक्रबार बसेको केन्द्रीय कार्यसमिति बैठकले संसदीय बोर्ड बनाउने जिम्मा सभापति देउवालाई नै दिएको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्