दशैँ मनाउन सर्वसाधारणहरु बाहिर गएपछि काठमाडौं उपत्यकामा मानिसहरुको चहलपहल न्यून बन्दै गएको छ भने सवारी साधनसमेत पातलिएका छन् ।
अघिपछि सवारी जाम हुने यहाँको विभिन्न चोकहरुमा आज रोकिनु नपरेको महानगरीय ट्राफिक प्रहरी महशाखाले जनाएको छ । कलङ्की, कोटेश्वर तथा न्यूरोडलगायत व्यापारिक क्षेत्रहरुमा अझै केही भीडभाड रहेको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले जानकारी दिए ।
आजदेखि सार्वजनिक बिदा भएकाले आज धेरै सवारी र यात्रुहरु राजधानी बाहिरिएका छन् । गएको १२ घण्टामा मात्रै तीन लाख ४५ हजार मानिस राजधानीबाट बाहिरिएका छन् । दशैँ मनाउन आज सबैभन्दा बढी यात्रु राजधानी बाहिरिएको महाशाखाले जनाएको छ । यसअघि शुक्रबार र शनिबार क्रमश दुई लाख १५ हजार र दुई लाख ४० हजार यात्रु राजधानीबाट बाहिरिएका थिए ।
अहिलेसम्म राजधानीबाट दशैँ मान्नका लागि करीब २४ लाख मानिस बाहिरिएका प्रहरीले जनाएको छ । यस्तै असोजको दोस्रो साता यातायातका साधन बिग्रिएकाले नागढुङ्गा–नौबिसे सडकको यातायत आवागमनमा केही दिन समस्या देखिएपछि तत्काल समाधान गरी यातायात सहज बनाइएको र अन्य क्षेत्रमा यसपालि ठूलो समस्या नदेखिएको नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले जानकारी दिए ।
यसपालि विगतको भन्दा शान्ति सुरक्षा प्रभावकारी भएको उल्लेख गर्दै अप्रिय र जघन्य घटना नभएको उनंले बताए । यसैबिच मादक पदार्थ सेवन गरेर लामो दूरीको बस चलाउने ८ चालकलाई प्रहरीले पक्राउ गरेको छ । असोज पछिल्लो तिन दिन यता लामो दूरीको बस चेकजाँचको क्रममा ती चालकले मापसे गरेको खुलेपछि प्रहरीले पक्राउ गरेको हो । यस्तै उपत्यकामा चल्ने २ बस र एक ट्रकका चालकसमेतलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
उनीहरुलाई प्रहरीले नयाँ बसपार्क, नागढुंगा, थानकोटलगायतका क्षेत्रमा चेकजाँच गर्दा मापसे सेवन गरेको पाइएको थियो । पक्राउ पर्नेमा रोशन विक, शिवराज गिरी, रितेश नेपाली, पुष्पराज वाग्ले, बाबुराम राय , पूर्ण राई, सकिल खान, जनक भण्डारी, राम बहादुर उप्रेती र रामकृष्ण पाण्डे रहेका छन् । बसपार्कको चेकजाँचका क्रममा ना ८ ख ७२९८ को बसका चालक भने फरार रहेको प्रहरीले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।