मुख्य समाचार

सरकार पुर्नःगठनसहितको रणनीति बनाउँदै कांग्रेस

By थाहा अनलाइन

October 09, 2017

सैघाली खबर काठमाडौं, २३ असोज

नेपाली काँग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनभित्र माओवादी केन्द्रलाई सरकारबाट हटाउने बारेमा छलफल सुरु भएको छ । गठबन्धनभित्र जारी औपचारिक तथा अनौपचारिक छलफलमा माओवादीलाई सरकारबाट हटाउने बारेमा छलफल भएपनि निर्णय अझै भइनसकेको काँग्रेस नेता रमेश लेखकले बताउनुभयो । उहाँका अनुसार निर्वाचन आयोगले आचारसंहिता लागु गरेको भए पनि विशेष राजनीतिक परिस्थिति निर्माण भएका कारण निर्णय गर्न गठबन्धनको नेतृत्वमाथि दवाव परेको छ । आज नेपाली कांग्रेसले सरकार पुनःगठनका विषयमा थप छलफल गर्दैछ ।

नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठक बिहान प्रधानमन्त्री निवासमा बोलाइएको छ । बैठकमा दलहरुले मागेका सिट संख्या, तालमेल रणनीति, सरकार पुनःगठनलगायतका सबै विषयमा छलफल हुने लेखकले बताउनुभयो । राप्रपालाई सरकारमा ल्याउने गरि गृहकार्य भइरहेको छ । लेखकले विशेष परिस्थिति भएकाले निर्वाचन आचारसंहिता मान्न नपर्ने तर्क गर्नुभयो । प्रधानमन्त्री शेरबहादुर देउवाले लोकतान्त्रिक गठबन्धनलाई मजबुत गराउने उद्देश्यका साथ राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापालाई सरकारमा आउन आग्रह गर्नु भएको छ । प्रधानमन्त्रीले सरकारमा सहभागी हुन गरेको आग्रहलाई सकारात्मक रूपमा लिँदै थापाले आज बिहान पार्टी कार्यसम्पादन समितिको बैठक बोलाउनु भएको छ । बैठकले सरकारको सहभागिताका विषयमा निर्णय गर्नेछ ।