राष्ट्रपति विद्यादेवी भण्डारीले विजयादशमीका दिन आज टीका ग्रहण गर्न इच्छुक व्यक्तिलाई टीका प्रदान गर्नेछन् ।
राष्ट्रपति भण्डारीले आज दिउँसो १ देखि २ बजेसम्म टीका ग्रहण गर्न इच्छुक विशिष्ट व्यक्तित्व तथा दिउँसो २ः३० देखि ३ः३० सम्म अन्य व्यक्तिलाई टीका प्रदान गर्नेे राष्ट्रपतिको कार्यालयले जनाएको छ । टीकाको दिन आज राष्ट्रपति निवास शीतलनिवासको गेट नं १ को ढोका खुला रहने राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले पनि विजयादशमीको अवसरमा शुभेच्छुकलाई टीका लगाइदिने कार्यक्रम तय भएको छ । प्रधानमन्त्री ओलीले आज दिउँसो २ देखि ४ बजे सम्म मन्त्रीगण, सांसद्, विशिष्ट व्यक्ति, पार्टीका अन्य नेतालाई टीका लगाउनुहुने कार्यक्रम तय भएको उनका प्रेस सल्लाहकार कुन्दन अर्यालले बताए ।
यस्तै दिउँसो ४ देखि साँझ ७ बजेसम्म पार्टीका समर्थक, कार्यकर्ता, शुभचिन्तक एवं इच्छुकलाई प्रधानमन्त्री ओलीले टीका लगाउने कार्यक्रम छ । त्यसअघि प्रधानमन्त्री ओलीले टीकाको साइतमा आफ्ना पिताबाट टीका र आशीर्वाद लिनेछन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।