हामी तरकारी खादैछौं की बिषादी ?



 दिपक बोहरा

दाङ, २३ असोज​

 

 तरकारी मानव स्वाथ्यका लागि महत्वपूर्ण मानिन्छ । तर कतिपय अवस्थामा हामीले दैनिकरुपमा प्रयोग गर्ने तरकारीले हाम्रो स्वाथ्यमा नकारात्मक असर गरिरहेको हुन्छ । तरकारीको उत्पादन बढाउन अत्यधिक रुपमा खेतबारीमा नै बिषादीको प्रयोग हुने गरेकाले पछिल्लो समयमा बजारमा बिषादीसहितका तरकारी आउने गरेको जानकारहरु बताउँछन् ।

उत्याधिक बिषादिको प्रयोग भएका तरकारी खादा स्वास्थ्यमा समस्या देखिने गरेको उपभोक्ताहरुको गुनासो छ । कृषि पेशामा लाग्नेको संख्या कम रहेको र थोरै उत्पादकले धेरै उत्पादन गर्नुपर्ने भएकाले पनि यस्तो समस्या निम्तिएको हो । दाङमा सन् १९५२ मा मलेरिया नियन्त्रणको लागि भित्र्याइएको विषादी कृषि उत्पादनको लागि प्रयोग हुन थालेपछि यसको मात्रा बढ्दै गएको जिल्ला कृषि विकास कार्यालयका बाली संरक्षण अधिकृत पिताम्बर बस्नेतले बताए । दाङमा प्रति हेक्टर १९२ ग्राम विषादी प्रयोग हुने गरेको उनले बताए ।

जिल्लामा ९६ वटा एग्रोभेटहरुबाट विषादीको कारोवार भइरहेको दाङमा ८५ प्रतिशत विषादी व्यावसायिक तरकारी खेतीमा प्रयोग हुने गरेको र प्रति हेक्टर २०३४ ग्राम विषादी प्रयोग हुने गरेको बाली संरक्षण अधिकृत बस्नेतले बताए । दाङमा किटनाशक विषादी ८।३६९ मेट्रिक टन, रोगनाशक विषादी ३।१५६ मेट्रिक टन, झारनाशक विषादी ०।१५९ मेट्रिक टन, अन्य विषादी १ मेट्रिक टन गरी जम्मा १२।६८४ मेट्रिक टन बिषादी आयत भएको उनले बताए । जसका लागि करिब एक करोड ५३ लाख ४५ हजार रुपैयाँ बराबरको खर्च भएको उनले जानकारी दिए ।

तरकारी बालीमा विषादी अवशेषको मात्रा वढी रहेकाले मानव स्वास्थ्यमा प्रतिकूल असर पर्ने गरेको उनले बताए ।  दाङमा बालीनालीमा देखिएका समस्याको नमुना बिना हचुवाको समस्या पहिचान, समस्याको सहि पहिचान विना विषादीको सिफारिस, विषादीको सिफारिसभन्दा मात्रा बढाएर छर्ने, सहि समयमा विषादी नछरेर जथाभावी छर्ने, सुरक्षित पहिरन विना नै विषादी छर्ने, विषादीको पर्खनु पर्ने अवधि ख्याल नगर्ने, बाली कटानी समयमा विषादीको प्रयोग गर्ने, बिक्री भन्दा अगाडि विषादीमा डुबाउने, विषादीलाई खेतीबाहेक अन्य जीवजन्तु तथा स्थानमा प्रयोग गर्ने जस्ता समस्याले गर्दा उपभोक्ताले बिषादीयुक्त तरकारी खानुपर्ने बाध्यता रहेको उनले बताए ।

विषादीको पकेट पुनः खोली प्याकेजिङ र बिक्री, म्याद नाघेका विषादीको बिक्री, विषादी प्रयोग गर्दा सुरक्षित पहिरनको प्रयोग नगर्ने आदि समस्याले गर्दा मानव शरीरमा नकारात्मक असर पारिरहेको उनले बताए । यसरी बिषादीयुक्त तरकारी प्रयोग गर्दा तत्कालिन टाउको दुख्ने, मुर्छा पर्ने, झाडापखाला, दृष्टी कमजोर तथा मृत्युसम्म हुनसक्ने बताए ।

साथै दीर्घकालिन असरका रुपमा अन्धोपना, क्यान्सर, ट्युमर, नपुंसकता, बाझोपन, विकृत बच्चाको जन्म, शरीरका विभिन्न अगंहरुमा असर, नशासम्बन्धी समस्या जस्तै पक्षघातजस्ता समस्या ल्याउने गर्ने गरेको उनले बताए ।   उनले बिषादी प्रयोग गर्दा किसानहरुलाई ध्यान दिन पनि आग्रह गरेका छन् । उनले सही मात्रा र सही समयमा सुरक्षित पहिरनको प्रयोग गर्न आग्रह गरे । पर्खने अवधि ख्याल गरी कृषि उत्पादन बिक्री वितरण गरी प्रयोग गर्न, कृषक हित तथा जनहितमा जनचेतना जगाउन र प्रयोगमा न्यूनिकरण गर्नका लागि आग्रह पनि गरेका छन् ।

उत्पादन लागत बढी लाग्ने भएकाले पनि थोरै खर्चमा बढी उत्पादन गर्नुपरेको केही कृषकहरु बताउन् । दैनिक रुपमा धेरै मात्रामा तरकारी बिक्री वितरण हुने ठाउँमा पनि बिषादीको मात्रा परीक्षण गर्ने प्रविधि नहुँदा उपभोक्ताहरुले तरकारीसंगै बिष लिइरहेका छन् । पहिले–पहिले तरकारी तथा फलफूलमा विषादीको कम प्रयोग हुने भएपनि आजभोलि भने निकै बढि हुन थालेको छ ।

उत्पादन बृद्धि गर्ने नाममा प्रयोग भइरहेका बिषादीले हाम्रो स्वाथ्यमा मात्र होइन माटोको उर्वराशक्तिमा पनि कमी ल्याइरहेको कृष् िाविज्ञहरु बताउँछन् । मौसमी तथा वेमौसमी तरकारी तथा फलफूललाई छिटो उत्पादन गर्नका लागि विषादीको प्रयोग गरि बिक्री वितरण गरिदै आइएको छ । उत्पादकले बढी उतपादन गर्न र बजारमा ताजा देखाउन प्रयोग हुने बिषादीले दैनिकरुपमा उपभोक्ताहरु ठगिने गरेका छन् । यस बिषयमा किसानहरुलाई पटक पटक सचेत गराए पनि न्यूनिकरण हुन नसकेको बताए । तरकारी किन्दा कुनै पनि तरकारीमा किरा लागेको छैन, हेर्दा आर्कषक छ भने त्यस्ता तरकारीमा बिषादी हुने गरेको भन्दै उपभोक्ताहरु सचेत हुन आवश्यक रहेको बाली संरक्षण अधिकृत बस्नेतले बताए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्