सञ्जालहरुमा व्यस्त हुने अहिलेका युवापुस्ताहरुलाइ पिङ खेल्ने फुर्सद छैन



म्याग्दी – पिङ भन्नाले रुखका हाँगामा वा चारतिर चारवटा बाँस गाडेर, बाँसको टुप्पाभन्दा केही तल बाँधिएको गरालोमा डोरी झुण्ड्याएपछि झुलेर वा मच्चाएर खेल्ने साधन भन्ने बुझिन्छ ।

नेपालीहरुको मुख्य चाडहरु दशैँ, तिहारमा मनोरञ्जनको प्रमुख साधन पिङलाई मानिन्छ । स–साना उमेरका केटाकेटीहरु दिनभरजसो पिङमै झुम्मिने गर्दछन् । पिङ खेल्ने भनेपछि त केटाकेटीहरु हुरुक्कै हुन्छन् । गाउँघरमा हालिने लिङेपिङ र रोटेपिङमा मच्चिन पाउँदाको आनन्द नै बेग्लै हुन्छ । बुढाबुढीहरु पनि वर्षमा एकपटक त धर्ती छोड्नुपर्छ भन्दै पिङ खेल्छन् । सबै उमेर समूहका लागि पिङ मनोरञ्जनको एउटा महत्वपूर्ण साधन हो । पहिले पहिले गाउँघरमा लिङेपिङ र रोटेपिङहरु थुप्रै हालिन्थ्यो । जता गए पनि पिङ खेल्न पाइने । तर, विगत केही वर्षदेखि यता भने गाउँघरमा हालिने लिङेपिङ र रोटेपिङ हराउँदै जान थालेका छन् । अहिले दुवैथरी पिङ खेल्न पाइँदैन । परम्परागत ज्ञान, सिप र प्रविधिमा आधारित रहेर बनाइने लिङेपिङ र रोटेपिङको सिप नयाँ पुस्तामा हस्तान्तरण हुन नसक्दा लोप हुने अवस्थामा पुगेको हो ।

पछिल्लो समय बढ्दो आधुनिकताको प्रभावका कारण मेला महोत्सवहरुमा समेत विद्युतबाट चल्ने पिङ खेलिने हुँदा युवा पुस्तामा परम्परागत पिङ खेल्ने त्यति चाहना देखिँदैन । अर्कोतर्फ घण्टौँसम्म सामाजिक सञ्जालहरुमा व्यस्त हुने अहिलेका युवापुस्ताहरुले पिङ खेल्ने फुर्सद पनि पाउँदैनन् । पहिले म्याग्दीका हरेक गाउँघर र टोलटोलमा हालिने लिङे पिङ र रोटेपिङ हिँजोआज लोप हुने अवस्थामा पुगेका छन् । रोटेपिङको अस्तित्व नै सङ्कटमा परेको छ भने लिङेपिङ समेत सीमित बन्दै गएको छ । संरक्षण गर्नेतर्फ युवापुस्ताले चासो नदेखाउँदा पिङ खेल्ने प्रचलन पनि हराउँदै जान थालेको हो । लिङे पिङको सट्टा अग्लो रुखको तेर्साे परेको हाँगामा पनि डोरी बाँधेर पिङ खेल्ने गरिन्छ । चाडबाडको समयमा यसरी पिङ खेलेर पनि आनन्द लिइन्छ ।

पिङ हालेर खेल्ने प्रचलन हराउँदै र संरक्षणको अभावमा पिङ लोप हुने अवस्थामा पुगेको बेनी नगरपालिका–५, चिप्लेटीका मिनबहादुर खत्रीले बताउनुभयो ।
‘पहिले–पहिले हामी साथीभाई जम्मा भएर भिरमा गइ बाबियो काटेर ल्याउँथ्यौं, आफैँ लठ्ठा बाट्थ्यौं र बाँसको लिङेपिङ हालेर खेल्थ्यौँ,’ उहाँले भन्नुभयो, ‘अहिलेका युवा पुस्ताहरु दुःख गर्न र सिप सिक्नै चाहँदैनन् ।’

यसरी तयार हुन्छ लिङ्गे पिङ
घटस्थापना सुरु भएदेखि नै गाउँमा दशैँको रमाइलो पनि सुरु हुन्छ । यही रमाइलोका लागि छरछिमेकका युवाहरु भेला भएर बलियो र दह्रो चारवटा बाँस काटेर ल्याई खाँबा बनाएर त्यसलाई गाडेपछि लिङेपिङ बन्छ । गाउँघरमा बाँस किनेर वा मागेर लिङ्गा बनाइ पिङ हाल्ने चलन छ ।

पिङ खेल्नका लागि वनजंगल र भिरपाखामा पुगेर बाबियो काट्नुपर्ने हुन्छ । काटेर ल्याएको बाबियो छिटेर घाममा सुकाइ पानीमा भिजाएर डोरी (लठाे) बाटेपछि बाँस गाडेर तेर्सो पारेर बनाएको गरालोमा बाँधेर लिङेपिङ बनाइन्छ ।

के हो रोटेपिङ ?
दुईवटा बलिया खाँबामा हालिएको बलामा मानिस बस्ने बारसहितको फलैँचा हुन्छ । त्यही फलैँचामा बस्नेहरुलाई तलबाट अरुले फनफनी घुमाइदिएर मच्चिने तथा खेलिने पिङ नै रोटेपिङ हो । यसलाई अर्को नाम चमच्चाको नामले पनि चिनिन्छ भने चर्खेपिङ र रोहोटेपिङ समेत भन्ने गरिन्छ ।

रोटेपिङका लागि प्रशस्तै काठको आवश्यकता पर्दछ । रोटेपिङ हाल्न ठूल्ठूला र बलिया दुईवटा खाँबा चाहिन्छ । त्यस्तै काठको झ्याल, बस्नलाई पाटी, आग्लो, साइडमा डण्डीलगायत काठको सहायतामा रोटेपिङ बन्छ । रोटेपिङमा एक पटकमा चार जनासम्म खेल्न मिल्छ । यो बनाउन धेरै समय लाग्ने र झण्झटिलो हुने भए पनि लिङे पिङभन्दा यो पिङ खेल्दा बढी रमाइलो र आनन्दको अनुभूति गर्न पाइन्छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्