पछिल्लो २४ घण्टामा काठमाण्डौ उपत्यकामा १८ वटा दुर्घटना एक जनाको मृत्यु



काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा १८ वटा दुर्घटना भएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।
दुर्घटनामा एक जनाको ज्यान गएको छ भने १७ जना घाइते भएका छन् । नक्सालमा प्रदेश ३ ०२ ००२ प ९७३३ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा काठमाडौं चावहिलका २२ वर्षीय प्रल्हाद केसीको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका केसीको उपचारका क्रममा हिमाल अस्पताल कमलपोखरीमा बुधबार राति नै मृत्यु ट्राफिक प्रहरीले जनाएको छ । मोटरसाइकल पछाडि बसेका २५ वर्षीय अनिश बस्नेत घाइते भएका हुन् । उपत्यकामा भएका १८ वटा दुर्घटनामा १७ जना घाइते भएका प्रहरीले जनाएको छ । ट्राफिक नियम पालना नगर्ने ५ सय ५७ जना चालक कारबाहीमा परेका छन् ।

यात्रुबाट बढी भाडा लिने, लेन मिच्ने, तीव्र गतिमा गाडी गुडाउने ५ सय ५७ जना चालकमाथि कारबाही गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । यस्तै, मादक पदार्थ सेवन गरेर गाडी चलाउने १ सय ३३ जना चालकलाई पनि कारबाही गरिएको छ । दशैँ मनाएर काठमाडौं उपत्यका भित्रिने यात्रुको संख्या बढ्दै गएको छ । पछिल्लो २४ घण्टामा ११ हजार ४ सय २१ गाडीमा ७० हजार ६ सय ५९ जना यात्रु भित्रिएका छन् ।

यस्तै, साढे ९ हजार गाडीबाट ५६ हजार ७ सय ५ वटा गाडी बाहिरिएको ट्राफिक प्रहरीले जनाएको छ । यसअघि बुधबारसम्म बाहिरिने यात्रुको संख्या धेरै थियो । यस वर्ष दशैँ मनाउन झण्डै २६ लाख मानिस उपत्यका बाहिर गएका छन् । उनीहरु क्रमशः भित्रिन थालेपछि काठमाडौं उपत्यकाका मुख्य–मुख्य चोकमा ट्राफिक जाम हुन थालेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्