ओमप्रकाश गुप्ता
भालुवाङ २८ असोज । दाङ देउखुरीको राप्ती गाउँपालिका १ भालुवाङमा गम्भीर घाइते अवस्थामा भेटिएको दुर्लभ जनावर निरविरालोकोे स्थानीय एग्रोभेटमा उपचारको क्रममा मृत्यु भएको छ । मंगलवार विहान करिव ७–८ बजेको समयमा स्थानीयहरुले गम्भीर घाइते अवस्थामा हनुमानगढी मन्दिर नजिक फेला पारेका थिए ।
घाइते निरविरालोको बाहिरी चोट नदेखिए पनि भित्री चोट बढी भएको कारण मृत्यु भएको बताइएको छ । घाइते अवस्थामा फेला परेको निरविरालोलाई भालुवाङका स्थानीय आमोश केसी सहितको टोलीले भालुवाङ स्थित आचार्य एग्रोभेटमा सामान्य उपचार गराएर इलाका प्रहरी कार्यालय भालुवाङ बुझाएका थिए ।
इप्रका भालुवाङले डिभिजन वन कार्यालय राप्तीमा खवर गरे लगत्तै वन कार्यालयको टोली आई डिभिजन वन कार्यालय लमहीलाई बुझाएको थियो । करिव ६–७ किलोको उक्त जनावर रामजहदी सामुदायिक वन र राप्ती सामुदायिक वनको सिमा क्षेत्रबाट आएको हुन सक्ने डिभिजन वन कार्यालय राप्तीका साहायक प्रमुख निमबहादुर बस्नेतले जानकारी दिएका छन् ।
यस क्षेत्रमा यस किसिमको जनावर नभेटिएकोले दुर्लभ जानकारी मानिएको डिभिजन वन कार्यालय लमहीका साहायक वन अधिकृत पुरनप्रसाद चौधरीले जानकारी दिएका छन् । अहिले उक्त मृतक निरविरालोको शवलाई पोष्टमार्टम गरी गाड्ने तयारी भइरहेको डिभिजन वन कार्यालय लमहीले जानकारी दिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।