सैघाली खबर
दाङ, २५ असोज
अमृतपुर खानेपानी तथा सरसफाई संस्थाको नयाँ नेतृत्व चयनका लागि हुन लागेको निर्वाचनमा काँग्रेसबाट अध्यक्ष पदमा वागी उम्मेदवारी दिएका नारायण बस्यालले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । बस्यालसँगै स्वतन्त्र रुपमा उम्मेदवारी दिएका तीन सदस्यहरुले पनि आफ्नो उम्मेदवारी फिर्ता लिएको निर्वाचन समितिका संयोजक रामशरण चौधरीले जानकारी दिए ।
उम्मेदवारी फिर्ता लिनेहरुमा नेपाल कम्युनिष्ट पार्टीको प्यानलबाट सदस्य पदमा उम्मेदवारी दिएका डिल्ली बहादुर वली, स्वतन्त्र रुपमा उम्मेदवारी दिएका डिल्ली भण्डारी र कृष्ण कुमार सापकोटा रहेको निर्वाचन समितिले जनाएको छ । कोषाध्यक्ष पदमा स्वतन्त्रबाट उम्मेदवारी दिएका जितबहादुर खड्काले भने उम्मेदवारी फिर्ता नलिएको जनाइएको छ । खड्का नेपाली काँग्रेसका क्षेत्रीय प्रतिनिधि पनि हुन ।
नौ सदस्य कार्यसमिति चयनका लागि हुन लागेको अमृतपुर खानेपानी तथा सरसफाई संस्थामा विभिन्न पदमा २७ जना निर्वाचनको प्रतिस्पर्धामा रहेको जनाइएको छ । खानेपानीको नेतृत्व चयनका लागि हुन लागेको निर्वाचनमा अध्यक्षका वागी उम्मेदर बस्यालले उम्मेदवारी फिर्ता लिएपछि काँग्रेस प्यानलका पदाधिकारीहरुले चुनाव भिडन्त सहज भएको नेपाली काँग्रेसले जनाएको छ । बस्याललाई काँग्रेसकै पहलमा उम्मेदवारी फिर्ता गराइएको काँग्रेस का क्षेत्रिय प्रतिनिधि तर्णबहादुर खड्काले बताए ।
स्थापना कालदेखि सर्वदलीय सहमतिमा कार्यसमिति चयन भएको अमृतपुर खानेपानीमा तथा सरसफाई संस्थामा पहिलो पटक नेतृत्व चयनका लागि निर्वाचन प्रकृयामा जान लागेको हो । मगंलबार उम्मेदवारी अन्तिम नामावली सार्वजनिक गरेको निर्वाचन समितिले बुधबार उम्मेदवारहरुलाई निर्वाचन चिन्ह दिने र असोज २८ गते बेलुका ८ बजेसम्म उम्मेदवारहरुलाई आफ्नो प्रचार प्रसारका लागि समय दिइएको निर्वाचन समितिका संयोजक रामशरण चौधरीले जानकारी दिए ।
तुलसीपुर उपमहानगरका ३, ८ र ९गरी ३ वडामा एक हजार दुई सय परिवारमा खानेपानी विस्तार गरेको अमृतपुर खानेपानी संस्थाको नेतृत्व चयनका लागि असोज २९ गते बिहान ८ बजेदेखि मतदान शुरु हुने निर्वाचन समितिले जनाएको छ । अमृतपुर खानेपानी तथा सरसफाई संस्थाको निर्वाचनमा एक हजार दुईसय छ मतदाता रहेको निर्वाचन समितिले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।