दाङ–प्रहरीले विहिवार नियन्त्रणमा लिएको विप्लबका नेता तथा कार्यकर्तालाई संगठीत र राज्य विरुद्धको अपराध मुद्धा दर्ता गरिएको छ । विभिन्न हातहतियार खरखजानासहित पक्राउ परेका विप्लवका नेता तथा कार्यकर्ताहरुको झण्डै ३६ घण्टा पछि जिल्ला प्रहरी कार्यालय दाङले उनीहरुको विवरण सार्वजनिक गरेको हो ।
प्रहरीले अमेरिकन लोड गरिएको पेस्तोल दुई थान, कटुवा पेस्तोल चार थान, नगद ३ लाख ८४ हजार पाँच सय तीस रुपैयाँ समेत बरामद गरेको दाङका प्रहरी प्रवक्ता विनोद बिक्रम शाहले जानकारी दिए ।
यसैगरी २४ थान मोवाईल सेट, केन्द्रीय समितिको आठौं पूर्ण बैठकको राजनीतिक प्रस्ताव लेखिएको २५ पानाको तीन ठेली, चन्दा संकलनको लागि ठिक्क पारिएको पत्र, नेपाल कम्यूनिष्ट पार्टीको छाप, विभिन्न राजनीतिक दर्शनका किताबहरु बरामद गरेको सार्वजनिक गरिएको छ ।
पक्राउ परेकाहरुलाई संगठित अपराध, राज्य विरुद्धको अपराधमा मुद्दा दर्ता गरी अनुसन्धान सुरु गरिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।