भिटामिन ए र जुकाको औषधि खुवाइँदै



शनिबार र आइतबार देशका सबै पालिकामा राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम सञ्चालन हुँदैछ ।

कार्यक्रमअन्तर्गत जन्मेको ६ महिनादेखि पाँच वर्षसम्मका झण्डै २७ लाख बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल, एक वर्षदेखि पाँच वर्षमुनिका २४ लाख बालबालिकालाई जुकाको औषधि अल्बान्डाजोल, ६ महिनादेखि दुई वर्षभित्रका चार लाख बालबालिकालाई बालभिटा खुवाइने कार्यक्रम रहेको छ । त्यस्तै पाँच वर्षमुनिका २७ लाख बालबालिकाको पाखुराको नाप लिइदैछ ।

बालबालिकाको पोषणको स्थिति पत्ता लगाउन पाखुराको नाप लिइने गरिन्छ । स्वास्थ्य सेवा विभाग, पोषण शाखाका प्रमुख केदार पराजुलीका अनुसार भिटामिन ए कार्यक्रमका लागि ७५३ वटै पालिकाका ५२ हजार बुथमा त्यही संख्यामा स्वास्थ्यकर्मी परिचालन गरिएको जानकारी दिए ।

मन्त्रालयले पछिल्लो समय यो कार्यक्रम स्थानीय तहलाई नै हस्तान्तरण गरिसकेको छ । सङ्घीयता कार्यान्वयनसँगै स्थानीय तहले विगतका वर्षमा राष्ट्रिय प्राथमिकता प्राप्त कार्यक्रम सफलतापूर्वक सञ्चालन गरेका थिए । मन्त्रालयले स्थानीय तहलाई प्राविधिक र अन्य समन्वयको मात्र सहयोग गर्दछ । ती कार्यक्रमका लागि झण्डै तीन करोड ५० लाख बजेट विनियोजन गरेको छ ।

ती दुई दिनमा परिचालन हुने महिला स्वयंसेविका तथा स्वास्थ्यकर्मीलाई दैनिक ४०० रुपैयाँ भत्ताको व्यवस्था भएको मन्त्रालयले जनाएको छ । सन् १९९३ देखि भिटामिन ‘ए’ कार्यक्रम शुरुआत भएको थियो ।

 

विगत २६ वर्षमा कार्यक्रमले सकारात्मक प्रभाव परेको शाखा प्रमुख पराजुलीले बताए। यस्तै काठमाण्डौ महांनगरपालीका वडा नं २९ अनामनगर स्थित के सी मेडीकल हलमा पनि भिटामिन ए कार्यक्रम सञ्चालन गरेको छ । स्वयंसेविका शान्ता ढकाल, धन ज्ञवाली र निर्मला मिश्र लगायतले यो कार्यक्रममा सहयोग गरेका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्