विप्लवका २१ नेता पक्रेको गाउँ, द्वन्दमा पनि पुलिस पुग्न सकेको थिएन (भिडियाे)

विप्लव नेकपाका नेता कार्यकर्ता पक्राउ परेको राजपुरको मगराईना गाउँ अहिले सुनसान छ ।


राजपुर दाङ, २ कार्तिक । विप्लव नेकपाका नेता कार्यकर्ता पक्राउ परेको राजपुरको मगराईना गाउँ अहिले सुनसान छ । नचिनेका मान्छे कोही देख्यो कि त्यहाँका स्थानीय बोल्न चाँहदैनन् । कारण हो, उही डर त्रास ।

माओवादिको जनयुद्दको समयमा सरकार र आन्दोलनकारीको चपेटामा परेका मगराईना गाउँका स्थानीय अहिले फेरि त्रसित बनेका छन्, कतै सोही नियति दोहोरिने होकि भन्ने आशंकाले । दिउँसै झ्याल ढोका बन्द गरेर बस्छन् त्यहाँका स्थानीय । स्थानीय गोपाल राणाका अनुसार अहिले गाँउमा त्रास फैलिएको छ । बिगतमा युवा उमेर देख्ने बित्तिकै दुबै पक्षबाट डराउनुपर्ने अबस्था थियो । अहिले पनि त्यही नियति दोहोरिएला भन्ने पिरलो मनमा परिरहेको राणाले हामीसँग बताए ।

लमही-मगराईना २६ किमिको दुरी, आधाभन्दा बढि जंगलको बाटो

गत बुधबार मात्र राजपुरको ४ नम्बर वडा अन्तर्गत पर्ने मगराईना गाउँबाट विप्लव नेकपाका २१ जना नेता कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । जुन ठाउँ दाङको लमहीबाट गढवा हुँदै करिब २६ किलो मिटरको दुरीमा पर्छ । लमहीबाट गढवा बजार ८ किलोमिटरको दुरीमा छ । गढवाबाट पश्चिममा पर्ने राजपुरको दुलैया पनि ८ किलो मिटर दुरीमा छ ।

दुलैयाबाट सिधै दक्षिण रोईनिया गाउँ पर्छ, जुन गाउँ दुलैयाबाट करिब २ किलोमिटर टाढा छ । रोईनिया गाउँ पार गरेपछि जँगलको बाटो शुरु हुन्छ । जहाँ घना जँगल मात्र छ । बस्ति पातलो भएका कारण पनि होला बाटो सुनसान मानिन्छ । बिकाशे योजनामा सधै पछि पर्ने दाङको राजपुर ४ मुङ्ग्रेठा खोला पुग्न कुनै गतिलो बाटो छैन । त्यसै पनि खोला कान्ला उकालो भिरालो भएको त्यस ठाउँमा पुग्न सास्ती नै छ ।

रोईनियाबाट जँगलको बाटो हुँदै मुङ्ग्रेठा गाउँ पुग्न करिब मोटरसाईकलमा १ घण्टा समय लाग्छ । करिब ६ किलोमिटर जँगलको यात्रापछि मुङ्ग्रेठा गाउँ पुगिन्छ । जुन गाउँ उपत्यका जस्तै छ, चारैतर्फ पहाडै पहाडले घेरिएको देखिन्छ । मुङ्ग्रेठा बाट अझै दक्षिण दोस्रो पहाडको माथिल्लो भागमा पर्छ मगराईना गाउँ ।

जुनगाउँमा पुग्न मुङ्ग्रेठाबाट पैदल १ घण्टा उकालो चढ्नुपर्छ । मोटरसाईकल त के साईकिल जान सम्भव छैन । दुरीले जम्मा २ किलोमिटर भएपनि त्यो बाटो घुमाउरो भएकोले समय बित्छ । त्यही मगराईना गाउँ बाट नै २१ जना नेकपाका नेता कार्यकर्तालाई प्रहरीले पक्रन सफल भएको हो ।

पक्राउ पर्नेमा नेकपाका महासचिब नेत्रबिक्रम चन्द “विप्लव” का दाजु बिरजङ्ग भनिने चन्द्र बहादुर चन्द पनि रहेका छन् । उनी केन्द्रिय सदस्य तथा लुम्बीनी ब्युरो इन्चार्ज एवं मध्यपश्चिम कमाण्ड इञ्चार्ज हुन ।

त्यस्तै राप्ती ब्युरो इन्चार्ज सुभाष भनिने केशव वहादुर बाठामगर, राप्ती व्युरो एवं न्याय विभाग समितिका जिल्ला संयोजक सुन्दर भनिने रामवहादुर थापा, राप्ती व्युरो कार्यालय सचिव सविन पोख्रेल, विक्रम भनिने जिल्ला इन्चार्ज यमलाल कटुवाल, जिल्ला सचिव प्रदीप ओली, पाटन जंगली भनी चिनीने यूवा संगठन नेपालका केन्द्रिय अध्यक्ष नवीन केसी, बुद्धिजिवी संगठनका सुनिल पौडेल, एरिया नम्बर ४ का इन्चार्ज एवं जिल्ला जनपरिषद् सदस्य एकराज चौधरी, महान भनेर चिनिने एरिया नम्बर १ का इन्चार्ज तथा राजपुर गाउँपालिकाका सचिव धनवहादुर बोहोरा, पुर्व जनमुक्ती सेना तिलक पुन, दलित राष्ट्रिय मुक्ती मोर्चाका जिल्ला अध्यक्ष सुरज विक, पार्टी सदस्यहरु हितप्रसाद रोका, पोष्टमान घर्ती, कुलवहादुर ओली, विष्णु थापा, रमेश आचार्य, जित क्षेत्री, दलवहादुर खत्री र बालकृष्ण शर्मा रहेका छन् । उनिहरु अहिले जिल्ला प्रहरी कार्यालय घोराही दाङको हिरासतमा छन् ।

गोप्य सुचनाको आधारमा पक्राउ गरियो-डिएसपी शाही

नेपाल–भारत सीमा नाका अन्तर्गत पर्ने दाङको राजपुर गाउँपालिका ४ मगराईना गाउँमा राती बैठक भइरहेको गोप्य सूचनाको आधारमा उनिहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी बिनोद विक्रम शाहीले जानकारी दिए । “हामिलाई गोप्य सुचना आयो, लगत्तै जिल्लाबाट टोली पठायौँ”, डिएसपि शाहीले भने- “केन्द्रिय स्तरकै नेताहरु पक्राउ परेका छन्, उनिहरुको जानकारी संकलन हुँदैछ अहिले केही भन्न सकिँदैन ।”

जिल्लाबाट खटिएको टोलीले मध्यराती बैठक स्थल नै कब्जा गरी नेताहरुलाई पक्राउ गरेको थियो । बैठक स्थलबाट हातहतियार, विष्फोटक पदार्थ समेत बरामद गरिएको प्रहरीले जनाएको छ । केन्द्रिय नेताहरु राप्ती ब्यूरो बैठकको लागि आएको र महासचिव विप्लव नै आउनसक्ने सम्मको सूचना प्रहरीले पाएको थियो ।

त्यसपछि प्रदेश, जिल्ला, वडा प्रहरी कार्यालय लमही र ईलाका प्रहरी कार्यालय गढवाका गरी करिब २५ जना सिविल प्रहरी घटनास्थल पठाइएको थियो । बैठकमा सहभागी हुन विप्लव नै आउने सुचना पाएपनि प्रहरी भने विप्लवलाई पक्राउ गर्न चुकेको छ । विप्लव त्यस बैठकमा सहभागी हुन आए या आएनन त्यो हामीले घटनास्थलमै पुग्दा पनि थाहा पाउन सकेनौं ।

जंगलबीचको मगराईना गाउँलाई जनयुद्ध कालमा पनि निकै सुरक्षितस्थलको रुपमा तत्कालीन माओवादीले प्रयोग गरेको थियो । त्यसै अनुरुप विप्लव नेकपाले पनि सोही स्थान रोजेको हुनसक्ने आँकलन गर्न सकिन्छ ।

स्थानीयका अनुसार जनयुद्धकालमा सरकारी सुरक्षाकर्मी यो ठाउँमा एकपटक पनि पुग्न सकेका थिएनन् ।

भोजपछि पक्राउ

प्रहरी पुग्दा विप्लव नेता कार्यकर्ता भर्खरै बैठक सकेर खानपिन गरि सुतेका थिए । कोही त मोबाईल चलाउँदै थिए । स्थानीय भिउसन वलिका अनुसार उनिहरुले खसी पनि ल्याएका थिए । बैठक सकेर स्थानिय ज्ञानेन्द्र राणाको घरमा उनिहरुले खसि ढाले । खसीको मासु सँग भोज सम्पन्न गरेको ज्ञानेन्द्रकी श्रीमती शोभाले बताईन । घरपनि सानो भएकाले र नचिनेका मान्छे सँग एउटै घरमा सुत्न अप्ठेरो भएकाले  देवर गोपालको घरमा गएको शोभाले बताईन । खानपिन पश्चात् उनिहरु शोभाकै घरअागनमा कोही सुत्दैथिए त कोही सुतिसकेका थिए ।

एकान्त र जनयुद्धकालमा पनि सुरक्षाकर्मी नपुगेकाले हुनुपर्छ, उनीहरु सेन्ट्री पनि नराखी सुतेको देखिएको छ । यद्यपि प्रहरी स्रोतले भने बैठकस्थल भन्दा केही तल सेन्ट्री राखेको पाइएकाले उनीहरुलाई झुक्याउँदै अर्को बाटो प्रयोग गरेर बैठकस्थल पुगेको जनाएको छ । विप्लवका कार्यकर्ता तथा नेताहरू गाउँमा पहिले देखि फाट्टफुट्ट आउने जाने गरेको भएपनि पहिलो चोटि धेरैको सँख्यामा आएको स्थानीयले बताए । २/४ जना नेता तथा कार्यकर्ता त आउने जाने गर्थे तर, ठूलो संख्यामा आएको यो पहिलोचोटी हो शोभाले भनिन् ।

नेपालीको घरमा विप्लवकाे बैठक

विप्लवका नेताहरु बैठक बस्ने घर, खाना खाने घरदेखी अलि माथी उकालोमा छ ।

विप्लवका नेताहरुले स्थानिय भिमबहादुर नेपालीको घरमा बैठक बसेका थिए । थोरैको सँख्यामा आउँदा पनि त्यही घरमा छलफल गरेर जाने गरेको नेपालीले बताए । असोज २९ गते राती नेपाली घरमा नभएको बेलामा नेत्र विक्रम चन्द विप्लव नेतृत्वका उच्च तहका नेताहरु बैठक बसेका थिए । आफु पाईल्सको रोगी भएको र उपचारको लागी २७ गते तुल्सीपुर गएको नेपालीले बताए । घरमा कोही नभएको मौका छोपी २९ गते बेलुका मेरै घरमा बैठक बसेका रहेछन् उनले भने ।

मगराईना गाउँको पूर्वमा करङ्गा गाउँ पर्छ भने पश्चिममा महतिनिया गाउँ पर्छ । अन्य खोलाका गाउँको तुलनामा मगराईना गाउँ अति बिकट मानिन्छ । यहाँ सञ्चार, बाटोघाटो, स्वस्थ्योपचार, पातलो वस्ति सबैलाई मध्यनजर गरि विप्लव नेकपाले सोही स्थान रोजेको स्थानियले शंका गरेका छन् ।

गाउँमा विप्लवका नेता कार्यकर्ता आउने जाने गरेपनि आफुहरु लाई कुनै समस्या नपरेको स्थानीयहरू बताउँछन्। “आउने जाने गर्नुहुन्थ्यो, हामिलाई केही असर पुगेको थिएन,” स्थानिय भिउसन वलीले भने- “चन्दा आतंक उनिहरुको नियत थिएन ।” माओवादि जनयुद्दका बेला चन्दा आतंकले त्रसित बनेको दावी गर्दै स्थानियले विप्लव नेकपाले त्यस्तो कुनै किसिमको दुख नदिएको बताउछन् ।

विप्लवका नेताहरु २९ गते त्यसगाउँमा प्रबेश गर्दा पनि आफ्नै राशन पानी बोकेर आएको वलिले बताए । उनीहरूलाई स्थानियले सहयोगको नाममा खाना पकाउने भाँडा मात्र उपलब्ध गराएका थिए ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्