घोराहीमा खुल्लारुपमा मासु बिक्रि गर्न नपाईने



निमु सगमं घर्ती,
घोराही, २५ असोज।
दाङको घोराही उपमहानगरपालिकाले बजारका मासु पसलहरुलाई तीन दिन भित्रै व्यवस्थितरुपले सञ्चालन गर्न निर्देशन दिएको छ । व्यवसायीहरुले नियम विपरित मासु विक्रि गर्दै आएको अनुगमनका क्रममा फेला परेपछि उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले तीन दिन भित्र व्यवस्थितरुपमा पसल सञ्चालन गर्न निर्देशन दिनुभएको हो ।

आगामी २८ गते देखी अनिवार्यरुपमा डिफ्रिजमा मासु राखेर बिक्रि गर्ने, बाहिरै नझुण्डाउने, जाली वा सिसा प्रयोग नगर्नेमा मासु व्यवसायीहरुले सहमति जनाएका छन् ।

मासु व्यवसायीहरुले नियमक निकायको निर्देशनलाई अटेरी गरेपछि नगर प्रमुख चौधरीले खसी, राँगा र बंगुरका मासु व्यवसायीलाई कार्यालयमा बोलाएर तत्काल नियम अनुसार चल्न निर्देशन दिनुभएको हो ।

छलफलमा मासु पसल सबैले दर्ता गर्ने, सफा राख्ने, नझुण्डाउने, सबै फ्रिजमा राख्ने, जाली, सिसाको प्रयोग नगर्ने, मूल्य सूचि राख्ने, खसी, बोका र बाख्राको मासु छुट्टा छुट्टै राख्ने लगाएतका बिषयमा व्यवसायीहरु सहमत भएका छन् ।

उक्त निर्णयहरुको कार्यान्वयन भए नभएको अनुगमन गर्न वडा नम्बर १४ का अध्यक्ष शक्तिराम डाँगीको संयोजकत्वमा समिति गठन गरिएको छ ।

अनुगमनका क्रममा उक्त निर्णयहरु कार्यान्वयन नभएको पाईए मासु जफत गर्ने र कानुन बमोजिक कार्वाही भोग्न व्यवसायीहरु तयार समेत भएका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्