काठमाडौं । गायक दुर्गेश थापालाई प्रहरीले पक्राउ गरेको छ । अपराध महाशाखाको टोलीले मंगलबार थापालाई पक्राउ गरेको पुष्टि गरेको छ । तिहारको छेको पारेर सार्वजनिक गीत ‘ह्याप्पी तिहार, चिसो बियर’ मा प्रयोग गरिएको शब्दका कारण विवादमा तानिएका उनीविरुद्ध जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उजुरी परेको थियो ।उजुरी परेपछि महानगरीय अपराध महाशाखा टेकुलाई गायक दुर्गेश थापालाई झिकाउन निर्देशन दिएको थियो । उजुरीकर्ताले तिहारको गीतभित्र रहेको गाँजा खाने कुरा संशोधन गर्न माग गरेका छन् । प्रशासन कार्यालयले निवेदकको माग अनुसार कारवाही प्रक्रिया अगाडि बढाएको छ ।
तिहारको बेला बियर खाने प्रचार गरेका कारण र ‘ए निकाल गाँजा, खानुपर्छ आज’ भन्ने अंश कानुन सम्मत नभएकाले विवादमा आएका हुन् । कानूनी रुपमा प्रतिबन्धित गाँजा खानुपर्छ भन्दै गीत गाएपछि दुर्गेशविरुद्ध जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उजुरी परेको थियो ।
तिहारको गीतमा दुर्गेशले गाएका छन् – डन आयो डन, जा मूला भन्,राजा हो राजा,बजाइदिन्छ बाजा,ए निकाल गाँजा, खानुपर्छ आज । दुर्गेशलाई बालाजुबाट पक्राउ गरेर महाशाखाको ल्याइएको उनको भनाइ छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।