शिक्षा

कुलमान पढेको विद्यालयको भूतपूर्व विद्यार्थी समाज गठन हुँदै

By थाहा अनलाइन

October 22, 2019

रामेछाप जिल्लाको नमूना विद्यालय घोषित सुनापती गाउँपालिका–४ बेथानको कुशेश्वर माविमा अध्ययन गरेका भूतपूर्व विद्यार्थीहरुको भेला हुने भएको छ । विद्यालयको शैक्षिक र भौतिक अवस्था सुधार गर्न भूतपूर्व विद्यार्थी समाज गठन गर्ने लागिएको हो ।

विद्यालयको पहलमा राजधानी काठमाडौंमा बस्दै आएका भूतपूर्व विद्यार्थीहरुलाई एकीकृत बनाउदै सुझाव लिने उदेश्यको साथ कार्तिक ६ गते ११ बजे भक्तपुरको सानोठिमी क्याम्पसमा भूतपूर्व विद्यार्थीहको भेला हुने भएको हो । विं सं २०१४ सालमा स्थानापना भएको कुशेश्वर माविबाट हालसम्म करिब १८ सय विद्यार्थी उत्पादन गर्न सफल भएका छ । यस माविमा अध्ययन गरेका विद्यार्थीहरु सरकारको उच्च तहमा पुग्न समेत सफल भएका छन् ।

सांसद, बैंकर्स, डाक्टर, इन्जिनियर, पत्रकार, उद्योग व्यवसायी, राष्ट्रसेवक कर्मचारी, राजनीतिज्ञ उत्पादन गर्ने शैक्षिक थलोको विकासमा भूतपूर्व विद्यार्थीहरुको सल्लाह र सुझाव लिन विद्यार्थी समाज गठन गर्न लागिएको विद्यालयका प्रअ बलदेव धामीले बताए । संस्थागत रुपमा नै भूतपूर्व विद्यार्थी समाज गठन गरेर विद्यालयको अभियानमा सहयोग पुगोस भन्ने उदेश्य विद्यालयले लिएको छ । तत्कालिन शिक्षामन्त्री महाकवि लक्ष्मीप्रसाद देवकोटा शिक्षामन्त्री हुँदा विं संं २०१४ साल असार ३ गते विद्यालयको स्थापना भएको थियो ।

उज्यालो नेपालका अभियन्ता नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, पूर्व सभासद शिवबहादुर खड्काले बेथानकै कुशेश्वर माविमा अध्ययन गरेका थिए । यसअघि विभिन्न प्रयास भएपनि विद्यालयको पहलमा यस पटक भने औपचारिक रुपमा कुशेश्वर मावि भूतपूर्व विद्यार्थी समाज गठन हुन लागेको हो । भेलामा सयौको संख्यामा भूतपूर्व विद्यार्थी, पूर्व शिक्षक र विद्यालयका शिक्षकहरुको सहभागीता हुने प्रअ धामीले जानकारी दिए ।