निर्माण सामग्री अभावका कारण गोरखाको लाप्राकमा निर्माणाधीन एकीकृत नमूना वस्तीको काम रोकिएको छ । स्टक सामान सकिए पछि गत असोज १५ गतेदेखि काम रोकिएको गैरआवासीय नेपाली संघ (एनआरएनए) का ओभरसियर डिलप्रसाद गुरुङले बताए । बर्खामा बिग्रिएको सडक मर्मत नहुँदा थप सामाग्री लैजानको लागी समस्या भएकाले निर्माणको काम नै रोकिएको उनले बताए ।
‘असोज महिनापछि बाटो खुल्छ भनेर त्यही अनुसार निर्माण सामाग्री स्टक राखेका थियौ,’ उनले भने, ‘तर बारपाकदेखि लाप्राक आउने सडक बनेन, सामान पनि सकियो ।’ सिमेन्ट अभावकै कारण काम रोकिएको र सडक मर्मत भएर सवारी आवागमन सहज नभएसम्म काम शुरु गर्न नसकिने ओभरसियर गुरुङले बताए ।
बारपाक र लाप्राकबीच सीमा विवादका कारण सडक मर्मतको काम रोकिएको थियो । विवाद मिलाउन मंगलबार दुबै पक्षबीच सात वुँदे सहमति समेत भइसकेको छ ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) ले निर्माण गरेको नमूना वस्तीमा ५ सय ७३ घर बनेका छन् । घरको संरचना तयार भइसकेको छ । ४१ वटा शौचालय , ३ सय ६० वटाको खाडल खनेर डीपीसी गरिएको मा सिमेन्ट नभएर अहिले काम रोकिएको छ ।
वस्तीदेखि करिब सय मिटरमाथि रिजर्भ ट्याङ्की निर्माण गरिएको छ । ‘ट्याङ्कीमा पानी आइसक्यो, अब वस्तीमा ल्याउन मेन पाइपलाइन खन्ने काम भइरहेको छ,’ अर्यालले भने । करिव १८.३ हेक्टर क्षेत्रफलको सार्वजनिक जग्गामा वस्ती निर्माण भइरहेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।