सेवालाई व्यवस्थित र सहज बनाउने घोराही उपमहानगरको निर्णय



निमु सगंम घर्ती,
घोराही, २६ असोज,।
कार्यालयको सेवा प्रबाहलाई व्यवस्थित गर्ने गरि अघि बढ्ने घोराही उपमहानगरपालिकाले योजना बनाएको छ । उपमहानगर कार्यपालिकाको बुधबार बसेको बैठकले कार्यालयबाट दिई सेवालाई व्यवस्थित र सहज बनाउन टोकन प्रणाली अबलम्बन गर्ने निर्णय गरेको हो । नगर प्रमुख नरुलाल चौधरीको अध्यक्षतामा बसेको बैठकले सेवा प्रबाहमा हुने असहजता र पालोलाई व्यवस्थित गर्न कार्यपालिकाले छिटै टोकन प्राणाली लागु गरेर अघि बढ्ने निर्णय गरेको हो ।

सेवा विस्तार हुँदा र बिषेश गरी कर उपशाखामा सेवाग्राहीको समस्यालाई मध्यनजर गरि सेवा प्रवाहलाई सेवाग्राहीमैत्री बनाउन टोकन प्रणाली लागु गर्ने निर्णय गरिएको उपमहानगरका प्रबक्ता भरत अर्यालले जानकारी दिनुभयो ।

साथै उपमहानगरपालिकाको चालु आर्थिक बर्षको सामाजिक सुरक्षा भत्ता बैंक मार्फत दिने ऐन अनुसार बैंकिंग प्रणाली मार्फत वितिरण गर्ने निर्णय समेत भएको । यसैगरी उपमहानगरपालिकाबाट संचालन हुने योजनाहरुको प्रभावकारी कार्यन्वयन गर्न योजना संचालन कार्यान्वयन, जाँच पास तथा फरफारक कार्यविधि २०७४ निर्माण गर्न विधयक समितिको संयोजकत्वमा ४ सदस्यीय समिति गठन गरिएको छ । समितिका संयोजक रमेशकुमार पाण्डेय, सदस्यहरुमा योजना महाशाखा प्रमुख, प्रशासन महाशाखा प्रमुख, आर्थिक प्रशासन शाखा प्रमुख र आवश्यकता अनुसार विज्ञको सेवा लिन सक्ने निर्णय भएको छ ।

यसैगरी घोराही उपमहानगरपालिका क्षेत्र भित्र नक्सा पास इजाजत प्रक्रिया पूरा नगरी निर्माण गरेका घरहरुको अभिलेख तथा इजाजतका लागि दरखास्त पेश हुन आएका दरखास्तहरुलाई प्राविधिक प्रतिवेदन र सम्वन्धित वडाको सिफारिसको आधारमा उपमहागरको मापदण्ड पुग्ने गरि निर्माण भएका संरचनामा प्रति वर्ग फिट थप जरिवाना दस्तुर साविकको दरमा दोब्बर लिई आगामी २०७४ चैत्र मसान्त सम्ममा सूचना प्रवाह गरि घर नक्सा पास अभिलेखीकरण गर्ने निर्णय भएको छ । कार्यपालिकाको बैठकले सर्वोदय पुस्तकालय तथा वाचनालयलाई व्यवस्थित बनाउन व्यवस्थापकीय सहयोगका लागि यसै आर्थिक बर्षमा एक लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ ।

त्यसैगरी घोराही उपमहानगरपालिका ५ मा रहेको पाण्डेश्वर महादेव मन्दिर धारापानीको गुरुयोजना तथा कल्भर्ट निर्माणका लागि विस्तृत अध्ययन गरि अनुमानित लगानी सहितको प्रतिवेदन तयार गर्ने भएको छ । सोको लागि बिष्णुमणि दाहालको संयोजकत्वमा रेवबहादुर बुढाथोकी, खोपीराम चौधरी, पाण्डेश्वर महादेव मन्दिर धारापानी व्यवस्थापन समितिको अध्यक्ष र योजना शाखाका नरेश बिक्रम सुवेदी रहेको समिति गठन गरि प्रक्रिया अगाडी बढाउने निर्णय भएको छ ।

घोराही उपमहानगरपालिकामा बढ्दो क्रिकेट खेल प्रतिको आकर्षणलाई सम्बोधन गर्न दाङ क्रिकेट संघलाई सहयोग स्वरूप ३ लाख रुपैयाँ प्रदान गर्ने निर्णय भएको समेत प्रबक्ता अर्यालले जानकारी दिनुभयो । साथै उपमहानगरपालिकाबाट चालु आर्थिक बर्षका लागि लागत सहभागिता कार्यक्रम अन्तर्गत संचालन गरिने सडक पिच तथा पूर्वाधार निर्माणका लागि ग्रामिण क्षेत्रमा १५५, शहरी क्षेत्रमा ३०५ लागत सहभागिता, नगरस्तरीय र वडा स्तरीय पूर्वाधार निर्माणका लागि ५५ रकम जुटाई योजना संचालन गर्ने पनि निर्णय कार्यपालिकाले गरेको छ ।

साथै विभिन्न सामान खरिद प्रक्रियाका लागि आह्वान गरिएका बोलपत्रहरुको प्राविधिक तथा आर्थिक प्रस्ताव मूल्यांकन गर्न सार्वजनिक खरिद नियमावली २०६४ नियम १४७ बमोजिम योजना महाशाखा प्रमुख संयोजक प्रशासन महाशाखा प्रमुख र आर्थिक प्रशासन महाशाखा प्रमुख सदस्य रहेको समिति गठन भएको छ । बैठकले नगरबासीहरुलाई दिपाबली र छठ पर्वको शुभकामना दिदै जुवातास तथा अन्य विकृति जन्य गतिविधिहरुलाई नियन्त्रण गर्न सबैमा अनुरोध समेत गरेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्