फोरम लोकतान्त्रिकको क्षेत्रीय समिति माओवादी केन्द्रमा



सैघाली खबर
दाङ असोज २६

फोरम लोकतान्त्रिक दाङ क्षेत्र नम्बर १ को क्षेत्रीय समिति नेकपा माओवादी केन्द्रमा समाहित भएको छ ।

२०७० सालको संविधानसभाका चुनावका सभासद् उम्मेदवार एवं युवा संगठनका केन्द्रीय संगठन विभाग प्रमुख वीरेन्द्र चौधरीसहित फोरम लोकतान्त्रिक दाङ क्षेत्र नम्बर १ को सम्पूर्ण समिति बिहीवारदेखि लागु हुने गरी माओवादी केन्द्रमा समाहित गरेको क्षेत्रीय अध्यक्ष आरडी यादवले जानकारी दिनुभयो । सो निर्वाचनमा चौधरीले चार हजार बढी मत ल्याउनुभएको छ ।

यादवको अध्यक्षता एवं चौधरीको प्रमुख आतिथ्यमा बसेको क्षेत्रीय समितिको बैठकले पार्टी जनताको चाहनाअनुसार अघि बढ्न नसकेको, स्पष्ट नीति र योजनाविना राष्ट्रिय राजनीतिमा पहल लिन नसकेको र नेतृत्व व्यक्तिगत स्वार्थमा लिप्त भएको आरोप लगाउँदै माओवादी केन्द्रमा ध्रुवीकृत गर्ने निर्णय गरेको हो । उत्पीडित वर्ग, क्षेत्र, लिंग र जातीय समुदायको प्रतिनिधित्व गर्ने विश्वासका साथ माओवादी केन्द्रको नीति विचारमा सहमति भएर त्यसमा ध्रुवीकृत हुने निर्णय गरिएको अध्यक्ष यादवले जानकारी दिनुभयो ।

बैठककले ध्रुवीकरण प्रक्रिया अगाडि बढाउन र जिल्लाका अन्य कमिटीसँग पनि ध्रुवीकरणका लागि पहल गर्न क्षेत्रीय आरडी यादव संयोजक रहेको कार्यदल गठन गरेको छ । जसमा अतिउल्ला मनिहार, अनिल चौधरी, जानकी चौधरी र अयोध्याप्रसाद यादव सदस्य रहनुभएको छ । जिल्लाका अन्य कमिटी र व्यक्तिहरुसँग पनि ध्रुवीकरणका लागि छलफल चलिरहेकाले सबैलाई समेटेर चाँडै देउखुरीमा पार्टी ध्रुवीकरणको घोषणासभा गरिने संयोजक यादवले जानकारी दिनुभयो ।

पार्टीको कमिटीले नै निर्णय गरेर ध्रुवीकरण प्रक्रियामा आउनु स्वागतयोग्य भन्दै माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य निर्मल आचार्यले नेता कार्यकर्ताको उचित ब्यवस्थापन हुने बताउनुभयो । जिल्लाका अन्य क्षेत्रमा पनि ध्रुवीकरणका लागि छलफल भइरहेकाले चाँडै संयुक्त घोषणासभा गरिने उहाँले बताउनुभयो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्