निर्माण कम्पनीहरुको विवादका कारण हुलाकी राजमार्ग निर्माण अन्यौलमा



सैघाली खबर
वाँके ,२७ असोज
ढुंगा, गिट्टी र बालुवाको उत्खनन् एवम् राजश्व संकलनका सम्बन्धमा दुई ठेकेदार कम्पनीबीच बिबाद हुँदा बाँकेमा हुलाकी राजमार्गको काम प्रभावित भएको छ । ढुंगा गिट्टी र बालुवाको राजश्व संकलनको ठेक्का पाएको सपना ट्रेडर्स र हुलाकी राजमार्गको ठेक्का पाएको गणपति कन्स्ट्रक्सनबीच विवाद हुँदा आईतबारदेखि हुलाकी राजमार्गको काम रोकिएको हो । काम नियमित भईनसकेकै अवस्थामा ठेकेदार कम्पनी गणपति कन्स्ट्रक्सनले मनोमानी गरेको भन्दै स्थानीयले पनि ढुंगा, गिट्टी ओसारपसार गर्न नदिने चेतावनी दिएका छन् । 

बाँकेमा यो बर्ष सपना ट्रेडर्सले ढुंगा, गिट्टी र बालुवाको राजश्व संकलन गर्ने जिम्मेवारी पाएको छ । उसले जिल्लाका सबै विकास निर्माणका काममा प्रयोग हुने प्राकृतिक श्रोतसाधनको राजश्व आफूले पाउनुपर्ने दाबी गर्दै गणपती कन्स्ट्रक्सनसँग पनि राजश्वको अपेक्षा राख्दै आएको छ । गणपति कन्स्ट्रक्सनले यसअघिकै ठेकेदारबाट ढुंगा,गिट्टी खरिद गरेर स्टक राखेको जनाएको छ । तर सपना ट्रेडर्सले भने गणपतिले स्टक गरेको भनिएको ढुंगा–गिट्टी खरिद गरेको नभई अवैधानिक तवरले उत्खनन् गरेको भन्दै हुलाकी राजमार्गमा प्रयोग हुने ढुंगा–गिट्टी ओसार्न अवरोध गरेको छ । जसका कारण दुई पक्षबीच बिबाद निम्तिँदा हुलाकी राजमार्गमा ढुंगा, गिट्टी प्रयोग हुने काम प्रभावित भएको छ ।

शनिबार राति गणपति कन्स्ट्रक्सनले जबरजस्ती गरेर टिप्परमा गिट्टी, बालुवा ओसार्न थालेपछि आफूहरुले रोक्न खोज्दा सामान्य बिबाद भएको सपना ट्रेडर्सका कर्मचारी धनिराम चौधरीले बताए । ‘हामीले स्टक राखेको कागजात देखाएर ढुंगा, गिट्टी ओसार्नुस् भनेर बारम्बार भन्दा पनि उहाँहरुले जबरजस्ती गर्न खोज्नु भो । त्यसैले झडपको स्थिति आएको हो । उहाँहरुले स्टक राखेको कागजात देखाउनुभयो भने हुलाकी राजमार्गका लागि गिट्टी, ढुंगा ओसार्न दिन हामीलाई कुनै आपत्ति छैन ।’, सपना ट्रेडर्सका चौधरीले भने ।

ठेकेदार कम्पनीहरुबीच प्राकृतिक श्रोत–साधनबारे उठेको बिवाद अहिले जिल्ला समन्वय समितिको कार्यालयसम्म पुगेको छ । समन्वय समितिको कार्यालयमा गणपति कन्स्ट्रक्सनले अघिल्लो ठेकेदारबाट गिट्टी बालुवा खरिद गरेको भन्ने कागजात पेश गरिसकेका कारण अब विवाद चाँडै अन्त्य भई हुलाकी राजमार्गको काम नियमित हुने निमित्त स्थानीय विकास अधिकारी मिन बहादुर मल्लले जानकारी दिए ।

 

‘सम्झौता अनुसार गणपति कन्स्ट्रक्सनले टिप्परले बिगारेको बाटो पनि बनाएको छैन । धुलो नउडोस् भनेर नियमित पानी पनि हाल्दैन । चालकहरुले टिप्पर स्थानीयको सातो नै उड्ने गरि कुदाउँछन् । त्यसो नगर भन्दा उल्टो केटाहरु ल्याएर कुटपिट गर्ने धम्की दिन्छन् ।’ राप्ती सोनारी गाउँपालिका–६ फत्तेपुरका सीताराम थारुले अगाडि भने, ‘यसरी गल्ती आफै गर्ने अनि उल्टो गाउँलेलाई नै धम्काउने गरेपछि हामी चुप लागेर बस्ने कुरा हुँदैन । सम्झौता पालना नगरेसम्म हामी गणपति कन्स्ट्रक्सनका टिप्परहरु बाटोमा कुद्न दिँदैनौं ।’

गणपति कन्ट्रक्शन खाना खाजाको  तिरेनन   पैसा  

गणपति कन्स्ट्रक्सनले आफ्ना कर्मचारीहरुलाई स्थानीय होटल तथा पसलमा खाना–नास्ता खुवाएको उधारो नतिरेकाले पनि स्थानीयहरु आक्रोशित भएका छन् । गणपति कन्स्ट्रक्सनले स्थानीय होटल, पसल र ग्यारेजको लाखौं रकम लामो समयदेखि नतिरेको पीडितहरुको भनाई छ । फत्तेपुर ढलैयाका राम बहादुर रेउले, गजाधर थारु ल्गायत आधादर्जन बढीको एक लाख रुपैयाँभन्दा बढी गणपति कन्स्ट्रक्सनले तिरेको छैन । ‘मेरो पसलमा गणपति कन्स्ट्रक्सनका कर्मचारीलाई खाना–नास्ता खुवाएको रकम अँझै पाउन सकेको छैन । मैले करिब २६ हजार रुपैयाँ पाउनुपर्ने हो, आजभोलि भन्दाभन्दै ६ महिना पुगिसक्यो । ठेकेदारहरु गाडीमा आउँछन्, धुलो उडाएर जान्छन्, उधारो तिर्नुपर्ने ठाउँमा फर्केर पनि हेर्दैनन् ।’ पीडित रेउलेले भने ।

ढलैयाकै गजाधर चौधरीले पनि ५ महिना अघि खाना नास्ता खुवाएको करिब ५३ हजार रुपैयाँ पाएका छैनन् । उनी भन्छन्, ‘यति सानो पुँजीमा संचालन गरेको पसलमा यति धेरै रकम लामो समयसम्म नदिएपछि मेरो के अवस्था भयो होला ?’, गजाधरले भने, ‘त्यसै त बाढीले घरबार बगाएर पीडित भएका हामीलाई ठेकेदारले झनै पीडित बनाएका छन् ।’
समन्वय समितिको कार्यालयले स्थानीय र निर्माणकर्ता गणपति कन्स्ट्रक्सनबीचको मनमुटाबबारे पनि जानकारीमा आएको भन्दै तत्कालै समाधानको पहल गर्ने जनाएको छ । अघिल्लो शनिबार गणपति कन्स्ट्रक्सनले रातिको समयमा जबरजस्ती टिप्परमा गिट्टी ढुंगा लैजान खोजेपछि भएको बिबाद पनि अँझै साम्य भईसकेको छैन । अर्कोतिर गणपति कन्स्ट्रक्सन र स्थानीयबीच पनि द्धन्द्ध पैदा भएको छ । स्थानीय अगुवा र प्रहरीको रोहबरमा तनाब केही मत्थर भएपनि असहज परिस्थितिको सम्भावना भने अँझै टरिसकेको छैन । ‘यदि गणपति कन्स्ट्रक्सनले स्थानीयहरुलाई दुःख दिएको हो भने हामी त्यसो नगर्न भन्छौं । विकाश निर्माणको काम स्थानीयसँग मिलेर गर्ने हो । न कि उनीहरुसँग मनमुटाब गरेर । निमित्त स्थानीय विकास अधिकारी मल्लले भने ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्