घोराही उप–महानगरपालिका द्वारा स्वास्थ्य कार्यविधि पारित



 

सैघाली खबर
दाङ , २७ असोज
घोराही उपमहानगरपालिकाले स्वास्थ्य संस्था सञ्चालन तथा व्यवस्थापन कार्यबिधी २०७४ पारित गरेको छ । उपमहानगर कार्यपालिकाको बैठकले उपमहानगरको स्वास्थ्य शाखाले पेश गरेको स्वास्थ्य कार्यविधि नगर स्तरिय वैठकले सर्वसम्मत रुपमा पास गर्दै यस्तो निर्णय गरेको हो ।

नगर प्रमुख नरुलाल चौधरीको अध्यक्षतामा बसेको बैठकले नगर क्षेत्रका कुनै पनि व्यक्तिलाई जटिल प्रकृतीका रोगको समस्या भए ५ हजार रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको छ ।

बैठकले क्यान्सर, मृगौला, मुटु, फोक्सो, कलेजो, ब्रेनट्युमरबाट बिरामी भइ उपचारका लागि आर्थिक सहयोग माग भए वडा समितिको सिफारिस र सरकारी अस्पतालको कागजको आधारमा अधिकतम पाँच हजार रुपैयाँ सहयोग गर्ने अधिकार नगर प्रमुखलाई दिईएको छ ।

यसैगरी नगरवासीको घरमा आगलागी र बाढी पहिरोबाट क्षति भएमा वातावरण तथा विपद व्यवस्थापन समितिको सिफारिसमा अधिकतम पाँच हजार रुपैयाँ आर्थिक सहयोग गर्ने अधिकार पनि नगर प्रमुखमा रहने भएको छ ।

साथै बैठकले दोस्रो बाल भेला व्यवस्थापनका लागि ५० हजार रुपैयाँ आर्थीक सहयोग उपलब्ध गराउने निर्णय भएको उपमहानगरका प्रबक्ता भरत अर्यालले जानकारी दिनुभयो ।

त्यसैगरी घोराही उपमहानगरपालिका १८ को कालिका भगवती मन्दिरको पूजा खर्चका लागि मन्दिर पुजारीलाई मासिक २ हजार रुपैयाँ दिने निर्णय भएको छ । साथै बैठकले वडा नम्बर १२ का वडा सदस्य पुष्प बिक र वडा नम्बर १४ सचिव सुरबहादुर केसीको स्वास्थ्यलाभको कामना गरेको छ ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्