मुख्य समाचार

आज विश्व सेतो छडी दिवस, दृष्टिविहिनको यात्रा भने अझै असहज

By थाहा अनलाइन

October 15, 2017

सैघाली खबर काठमाडौं,२९ असोज

आज विश्व सेतो छडी दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईंदैछ । प्रत्येक वर्षको अक्टोबर १५ का दिन विश्वभर यो दिवस मनाउने गरिएको छ । संसारभर दृष्टिविहिनहरुलाई आवतजावत गर्न सहारा दिने एक मात्र उपकरणका रुपमा सेतो छडीलाई महत्वका साथ हेर्ने गरिन्छ ।

सेतो छडीको माध्यमबाट दृष्टिविहिनहरु स्वतन्त्र रुपमा अरुको सहारा बिना नै हिंडडुल गर्न सक्छन् । अपांगता भएका व्यक्तिहरुको अधिकार सम्बन्धी महासन्धि (सिआरपीडी) को धारा २० ले यससम्बन्धी व्यवस्था पनि गरेको छ । यसमा नेपाल पनि पक्ष राष्ट्र हो भने नेपालको राष्ट्रिय कानुनहरुमा पनि दृष्टिविहिनहरुको यात्रा सहज बनाउने खालका प्रावधानहरु छन् । अपांग संरक्षण तथा कल्याण ऐन २०३९ ले अपांग र उसको सहयोगी समेतलाई हवाइ यात्रमा लाग्ने भाडा दरमा पचास प्रतिशत छुट दिनुपर्ने व्यवस्था गरेको छ । तर कानुनको कार्यान्वयन पक्ष फितलो भएको अधिकारकर्मीहरु बताउँछन् । सेतो छडी दृष्टिविहिनहरुको मौलिक अधिकार हो भन्ने नाराका साथ जिल्ला जिल्लामा विभिन्न कार्यक्रम हुने भएको छ तर नेत्रहिन संघको भने अधिवेशन भएकाले राष्ट्रिय रुपमा भने दिवस सम्बन्धी छुट्टै कार्यक्रम नरहेको संघका केन्द्रीय अध्यक्ष नरबहादुर लिम्बुले जानकारी दिनुभयो । संघको अधिवेशन हेटौंडामा भइरहेको उहाँले बताउनुभयो ।